विराटचोकः यो साता नेप्से परिसूचक करिब ०.५० प्रतिशत अर्थात् १३.७१ अंक घटेर २७३१.९४ विन्दुमा बन्द अडिएको छ । ५ दिन खुलेको शेयर बजार ३ दिन घटेको थियो ।
कारोबार रकम भने सामान्य बढेको छ । गत साता दैनिक औसतमा ३ अर्ब ४२ करोड रुपैयाँको शेयर किनबेच भएकोमा यो साता औसतमा ३ अर्ब ६९ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
नेप्सेको कुल बजार पूँजीकरण पनि ०.५० प्रतिशत घटेको छ । गत साताको अन्तिम कारोबार दिन ४६ खर्ब ८२ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण, यस साता २३ अर्ब रुपैयाँ घटेर ४६ खर्ब ५९ अर्ब रुपैयाँ कायम भएको छ ।
सातामा ३ उपसमूहको परिसूचक बढेको छ भने १० उपसमूहको परिसूचक घटेको छ । व्यापार उपसमूहको परिसूचक ०.९५ प्रतिशत बढेको छ । होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक अर्थात् १.७९ प्रतिशत घटेको छ ।
साहस उर्जाको शेयरमूल्य सबैभन्दा धेरै ५.४५ प्रतिशत बढेको छ भने रिज लाइन इनर्जीको शेयरमूल्य सर्वाधिक अर्थात् १४.७९ प्रतिशत घटेको छ ।




