Wednesday, May 13, 2026
Homeशिक्षा र स्वास्थ्यनौलो अभ्यास गर्दै सुन्दरवाटिका, शैक्षिक वर्षको शुरुमै दीक्षान्त, पुरस्कार वितरण तथा नयाँ...

नौलो अभ्यास गर्दै सुन्दरवाटिका, शैक्षिक वर्षको शुरुमै दीक्षान्त, पुरस्कार वितरण तथा नयाँ विद्यार्थीलाई स्वागत

गोठगाउँः सुन्दरवाटिका एकेडेमीले शैक्षिक क्षेत्रमा नयाँ अभ्यासको शुरुवात गरेको छ । नगरका अधिकांश विद्यालयले शैक्षिक वर्षको अन्त्यतिर अभिभावक दिवस आयोजना गरी विभिन्न तह पार गरेका विद्यालयलाई दीक्षित गर्ने गरेका छन् । तर सुन्दरवाटिकाले भने शैक्षिक सत्र शुरु हुनासाथ तह पार गरेका विद्यार्थीलाई दीक्षित गर्नुका साथै कक्षा उत्तीर्ण विद्यार्थीलाई सम्मान गरेको छ ।

नौलो अभ्यासकै रूपमा विद्यालयले आफ्ना विद्यार्थीका हजुरबुबा र हजुरआमालाई पनि सम्मान गरेको छ । बैशाख २७ र २८ गते दुई दिन आयोजित कार्यक्रममा २७ गते विद्यालयले विद्यार्थीका १०० जनाभन्दा बढी हजुरबुबा र हजुरआमालाई खादा, टीका र उपहार दिएर सम्मान गरेको थियो । २८ गते सुन्दरहरैंचामा क्रियाशील ४ जना सञ्चारकर्मीलाई विद्यालयले खादा, प्रमाणपत्र र नगद प्रदान गरी सम्मान गरेको थियो ।

त्यत्तिमात्रै होइन अन्य विभिन्न विद्यालयबाट आफ्नो विद्यालयमा आएका नयाँ विद्यार्थीलाई स्वागत पनि विद्यालयले गरेको छ ।

कार्यक्रममा विभिन्न ७ आइडलका विजेतालाई सम्मान गरिएको थियो । कार्यक्रममा विद्यार्थीले नाटक प्रतियोगितामा पनि भाग लिएका थिए ।
पहिलो दिन भएको कार्यक्रमका प्रमुख अतिथि सुन्दरहरैंचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईँले सुन्दरवाटिकाले शिक्षा क्षेत्रमा पुर्याएको योगदानको प्रशंसा गर्दै विद्यार्थीको निरन्तर उन्नतिको कामना गर्नुभएको थियो ।

विद्यालयले पूर्व प्राथमिक तह पार गरी कक्षा १ मा पुगेका ५० जना विद्यार्थीलाई दीक्षान्त समारोहमा सहभागी गराएको थियो । उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख केदारप्रसाद गुरागाईँ तथा अन्य अतिथिले संयुक्त रूपमा दीक्षित गर्नुभएको थियो । हरेक कक्षा उत्तीर्ण हुने सम्पूर्ण विद्यार्थीलाई कार्यक्रममा सम्मान गरी प्रमाणपत्र प्रदान गरिएको थियो ।
अन्य विद्यालयबाट आफ्नो विद्यालयमा अध्ययनका लागि यस वर्ष आएका ६८ जना विद्यार्थीलाई विद्यालयले स्वागत गरेको थियो । उनीहरुलाई प्रमुख अतिथिलगायत अन्य अतिथिले टीका र खादा लगाएर स्वागत गर्नुभएको थियो ।

विद्यालयले विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षक तथा कर्मचारीलाई पनि खादा र उपहार प्रदान गरी सम्मान गरेको थियो ।

कार्यक्रममा आफ्नो भनाइ राख्नुहुँदै विद्यार्थीका अभिभावक रेनुका पोखरेल र शकुन दियालीले विद्यालयले विद्यार्थीको सर्वाङ्गीण विकासका लागि विभिन्न अतिरिक्त क्रियाकलाप गर्ने हुनाले अभिभावकको रोजाइमा सुन्दरवाटिका पर्ने गरेको बताउनुभयो ।

कार्यक्रममा अभिभावक, विद्यार्थी तथा शिक्षक कर्मचारीले गायन र नृत्य प्रस्तुत गर्नुभएको थियो । विद्यार्थीले प्रस्तुत गरेका नाटकले अभिभावकको मन जितेको थियो । विद्यालयले विद्यार्थीबीच नाटक प्रतियोगिता गराएको थियो ।

उत्तीर्ण सबै कक्षाका विद्यार्थीलाई सम्मान, तह पार गर्ने विद्यार्थीका लागि दीक्षान्त, विद्यार्थीका हजुरबुबा तथा हजुरआमालाई सम्मान, सञ्चारकर्मी सम्मान, नवआगन्तुक विद्यार्थीलाई स्वागत, विभिन्न ७ विधामा प्रतियोगिता गरी आइडल छान्ने प्रक्रिया तथा विद्यार्थीले प्रस्तुत गरेको नाटक प्रतियोगितामा राखिएको विषयवस्तु र विद्यार्थीको अभिनय क्षमताको कार्यक्रममा उपस्थितले प्रशंसा गरेका थिए ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments