काठमाडौंः विगतका वर्षमा भन्दा यस वर्ष कम वर्षा हुने जल तथा मौसम विज्ञान विभागले प्रक्षेपण सार्वजनिक गरेको छ । अधिकतम र न्यूनतम तापक्रम सरदरभन्दा बढी हुने विभागले जनाएको छ ।
विभागले गत साता एक कार्यक्रम आयोजना गरी यस वर्षको मनसुनको सम्भावित अवस्थाबारे जानकारी दिएको हो ।
मौसमविदका अनुसार देशका अधिकांश स्थानमा सरदरभन्दा कम वर्षा हुने सम्भावना भए पनि विभिन्न भेगमा फरक–फरक छ । कर्णाली प्रदेशका दक्षिणी भूभाग, लुम्बिनी प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पूर्वी भूभाग र कोशी प्रदेशका दक्षिण भूभागमा सरदर भन्दा कम वर्षा हुने सम्भावना ५५ देखि ६५ प्रतिशतसम्म रहेको विभागको प्रक्षेपण छ ।
उता, कर्णाली प्रदेशका उत्तरी भूभाग तथा कोशी प्रदेशका उत्तरी भूभागमा भने सरदर वर्षा हुने सम्भावना छ ।
सुदूरपश्चिम प्रदेशका अधिकांश भूभाग, मधेश प्रदेशका पश्चिमी भूभाग र कोशी प्रदेशका मध्य भूभागमा भने सरदर भन्दा बढी वर्षा हुने सम्भावना ४५ देखि ५५ प्रतिशत रहेको विभागले जनाएको छ ।
मनसुन अवधिमा अधिकतम र न्यूनतम तापक्रम देशभर सरदर भन्दा बढी हुने सम्भावना ३५ देखि ६५ प्रतिशतसम्म रहेको र यो प्रक्षेपण आगामी १८ जेठदेखि १४ असोजसम्मको अवधिको हो ।
सामान्यतः जेठ अन्तिम साता अर्थात् जुन १३ मा बंगालको खाडी हुँदै नेपालमा मनसुन भित्रिने गर्छ र असोजको अन्तिम साता या कात्तिकको पहिलो सातासम्म मनसुन सक्रिय रहन्छ । विभागले जेठ १८ देखि असोज १४ गतेसम्मको अवधिलाई मनसुन ऋतु भन्दै वर्षा र तापक्रमको आँकलन गर्ने गरेको छ ।
विभागले विश्व मौसम संगठनको विश्वभर रहेका क्षेत्रीय स्तरका जलवायु विश्लेषण गर्ने केन्द्रहरूको विश्लेषणलाई आँकलनको आधार बनाउने गरेको छ । साउथ एसियन सिजनल क्लाइमेट आउटलुक फोरम (साकोफ) को आँकलनलाई पनि ऋतुगत आँकलनको आधार बनाउने गरेको छ ।
शाखाले नेपालको मनसुन याममा जलवायुमा प्रभाव पार्ने पूर्वी प्रशान्त महासागरमा विकसित हुने एल निनो, साउथर्न ओसिलेसन (इनसो) तथा हिन्द महासागरमा विकसित हुने इन्डियस ओसियन डिपोल (ओइओडी)को हालको अवस्था विश्लेषण गरेर ऋतुगत आँकलन तयार पार्ने गरेको छ ।
युरोप तथा एशियामा गत हिँउद तथा प्रि–मनसुन याममा परेको हिउँ, अन्तरऋतु परिवर्तनशीलताका विभिन्न कारकको विश्लेषणका आधारमा आँकलन गर्ने गरेको छ ।
जेठ १५ देखि साउन १५ सम्मको अवस्था हेर्दा यस पटक मनसुनको पहिलो आधा समय सुख्खा हुने हुनाले सो समयमा ३०–४० प्रतिशत मात्र रोपाइँ हुन सक्ने अनुमान गरिएको छ ।




