Thursday, April 16, 2026
Homeसमाजमन्त्रीहरुको सम्पत्ति विवरणमा बिहेमा प्राप्त वा माइतीबाट प्राप्त भनेर खुलाइएकोप्रति उपसभामुखको टिप्पणीः...

मन्त्रीहरुको सम्पत्ति विवरणमा बिहेमा प्राप्त वा माइतीबाट प्राप्त भनेर खुलाइएकोप्रति उपसभामुखको टिप्पणीः दाइजो स्वीकार गर्नू पनि दण्डनीय हो

विराटचोकः सामाजिक सञ्जालमा स्टाटस राख्दै उपसभामुख रूविकुमारी ठाकुरले दाइजो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउने बताउनुभएको छ । हालै मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्दा माइतीबाट प्राप्त वा बिहेमा प्राप्त भनेर सम्पत्ति खुलाइएकोमा उपसभामुखले यस्तो टिप्पणी गर्नुभएको हो । यद्यपि उहाँले सम्पत्ति विवरणप्रतिको टिप्पणी भनेर उल्लेख भने गर्नुभएको छैन ।

सामाजिक सञ्जाल फेसबुकमा राखिएको स्टाटसमा दाइजो लिनु–दिनुमात्रै नभएर दाइजोको लेनदेनमा आधारित विवाहमा भोज ग्रहण गर्नु पनि कानुनी रूपमा दण्डनीय अभ्यास भएको उहाँको भनाइ छ ।

समाज परिवर्तन, देश विकास र सामाजिक कुरीतिविरुद्ध उभिन चाहनेले परिवर्तनको सुरुवात आफैंबाट गर्नुर्ने उहाँको भनाइ छ ।

आफूले विवाहका निमन्त्रणा पत्रहरू प्राप्त गरिरहेको र तीमध्ये कुनै पनि कार्डमा ‘दहेजमुक्त विवाह’ भन्ने स्पष्ट उल्लेख नगरेको हुनाले ती विवाहमा आफू उपस्थित हुन असमर्थ रहने उहाँको भनाइ छ ।

यस्तो छ उपसभामुख ठाकुरले सामाजिक सञ्जालमा लेख्नुभएको स्टाटसः

सबैमा नमस्कार,
हालै मैले धेरै विवाहका निमन्त्रणापत्रहरू प्राप्त गरिरहेको छु । तर तीमध्ये कुनै पनि कार्डमा “दहेज मुक्त विवाह” भन्ने स्पष्ट उल्लेख देख्न पाइएको छैन । यसले हाम्रो समाज अझै दाइजो जस्तो गम्भीर कुरीतिबाट पूर्ण रूपमा मुक्त हुन नसकेको संकेत गर्छ ।

दाइजो लिनु र दिनु मात्र होइन, दाइजोको लेनदेनमा आधारित विवाहलाई स्वीकार गर्नु, त्यस्ता कार्यक्रममा सहभागी हुनु वा भोज ग्रहण गर्नु पनि सामाजिक रूपमा अस्वीकार्य र कानुनी रूपमा दण्डनीय अभ्यास हो । यस्तो प्रथाले महिलाको सम्मान, समानता र अधिकारमाथि प्रत्यक्ष आघात पुर्याउँछ ।

यदि हामी साँच्चिकै समाज परिवर्तनको कुरा गर्छौं, देश विकासको सपना देख्छौं र सामाजिक कुरीतिका विरुद्ध उभिन चाहन्छौं भने परिवर्तनको सुरुवात हामी आफैंबाट गर्नुपर्छ । व्यक्तिगत स्तरबाट उठाइएको सानो कदमले पनि ठूलो सामाजिक रूपान्तरण सम्भव हुन्छ ।
यसैले, दाइजो लेनदेन भएको विवाहमा म सहभागी हुन असमर्थ रहने जानकारी गराउन चाहन्छु । कृपया दहेजमुक्त, समानतामा आधारित र सुसंस्कृत विवाहको अभ्यासलाई प्रोत्साहन गरौं ।
अतः विवाह निमन्त्रणापत्रमा “दहेज मुक्त विवाह, दाइजो लिनु र दिनु सामाजिक तथा कानुनी अपराध हो” भन्ने स्पष्ट सन्देश समावेश गरी पठाउन हार्दिक अनुरोध गर्दछु ।
आउनुहोस्, हामी सबै मिलेर दाइजोमुक्त समाज निर्माणतर्फ ठोस पाइला चालौं ।
धन्यवाद ।
रुवि कुमारी ठाकुर
उपसभामुख

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments