विराटचोकः आजदेखि सर्वसाधारण लगानीकर्ताका लागि सोपान फर्मास्युटिकल्स लिमिटेडले प्राथमिक शेयर (आईपीओ) बिक्री गर्ने भएको छ ।
कम्पनीले जारी पूँजी १ अर्ब ७१ करोड ६० लाख रुपैयाँको २५ प्रतिशतले हुन आउने ४२ करोड ९० लाख रुपैयाँ बराबरको ४२ लाख ९० हजार कित्ता शेयर आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशतले हुन आउने ४ लाख २९ हजार कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायको श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरी बाँडफाँट गरिसकेको छ ।
कम्पनीले १ लाख ७१ हजार ६०० कित्ता शेयर कर्मचारीहरुका लागि र २ लाख १४ हजार ५०० कित्ता शेयर सामुहिक लगानी कोषहरुलाई बाँडफाँट गरिसकेको छ । बाँकी रहेको ३४ करोड ७४ लाख ९० हजार रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३४ लाख ७४ हजार ९०० कित्ता शेयर आजदेखि सर्वसाधारण लगानीकर्ताहरुका लागि बिक्री खुला भएको हो ।
सो कम्पनीको आईपीओमा न्यूनतम १० कित्ता र अधिकतममा ११ हजार कित्तासम्म आवेदन दिन सकिने छ । सर्वसाधारण लगानीकर्ताले बैशाख ८ गतेसम्म कम्पनीको आईपीओमा आवेदन दिन सक्नेछन् । सो अवधिसम्ममा पूर्ण आवेदन नपरेमा निष्काशन अवधि बैशाख १७ गतेसम्म लम्बिने कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले जनाएको छ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो शेयर’ अनलाईन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।
कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ८.११ वर्ष रहेको छ । डिस्काउण्ट लगानी फिर्ता हुने अवधि ११.३५ वर्ष रहेको छ । कम्पनीको खुद वर्तमान मूल्य १५ अर्ब ९७ करोड ५९ लाख ३९ हजार २५७ रुपैयाँ रहेको र आन्तरिक प्रतिफल दर २३.६३ प्रतिशत रहेको शेयर बिक्रीका लागि गरिएको आह्वानपत्रमा उल्लेख गरिएको छ ।



