विराटचोकः प्रधानमन्त्री बालेन्द्र शाह टाइम म्यागजिनको विश्वका १०० प्रभावशाली व्यक्तिमा पर्नुभएको छ । प्रधानमन्त्री बालेन प्रभावशाली नेताको सूचीको १४ औं नम्बरमा पर्नुभएको छ ।
जेनजी विद्रोहपछि प्रधानमन्त्री भएका शाहलाई टाइम म्यागजिनले २०२६ को प्रभावशाली व्यक्तिमा पारेको हो । प्रतिष्ठित अन्तर्राष्ट्रिय म्यागेजिन टाइमले प्रकाशित गरेको सन् २०२६ को सय प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन पर्नुभएको हो ।
टाइमले हरेक वर्ष सूची सार्वजनिक गर्छ । नेता, कलाकार, नवप्रवर्तक, प्रभावशाली व्यक्तित्व लगायतका केही समूहमा विभाजन गरी टाइमले सूची सार्वजनिक गरेको छ ।
उक्त समूहमा पोप लियो पहिलो नम्बरमा छन् । दोस्रो नम्बरमा मेक्सिकोकी प्रधानमन्त्री क्लाउडिया शेइनबउम छिन् । अमेरिकी विदेशमन्त्री मार्को रूबिओ तेस्रो र राष्ट्रपति डोनाल्ड ट्रम्प चौथो नम्बरमा छन् ।
पाँचौंमा क्यानडाका प्रधानमन्त्री मार्क कार्नी, छैटौंमा न्युयोर्कका मेयर जोहरन ममदानी, सातौंमा चिनियाँ राष्ट्रपति सी चिनफिङ, आठौंमा जापानकी प्रधानमन्त्री सनइ तकाइची, नवौंमा इसराइलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहू, दसौंमा नामिबियाकी राष्ट्रपति नेतुम्बो नन्दी नदैतवाह, एघारौंमा मध्यपूर्वका लागि अमेरिकी दूत स्टिभ विटकोफ, बाह्रौंमा क्यालिफोर्नियाका गभर्नर ग्याभिन न्यूसम, तेह्रौंमा स्पेसएक्सकी प्रमुख ग्वाइन शटवेल र चौधौंमा नेपालका प्रधानमन्त्री बालेन शाह छन् ।



