विराटचोकः थारु समुदायले मनाउने सिरुवा पर्व नयाँ वर्षको आगमनसँगै शुरु भएको छ । पूर्वी तराईका थारुहरुले १ महिनासम्म यो सिरुवा पर्व मनाउँछन् ।
सिरुवा पर्वको अवसरमा आज कोशी प्रदेश सरकारले सार्वजनिक बिदा दिएको छ । बालीनाली थन्क्याए फुर्सदको समय पारेर मनाइने यो पर्वमा आगामी बालीनाली राम्रो होस् भनेर भगवानसँग प्रार्थना गरिन्छ । बैशाख महिनाभर तराईका विभिन्न ठाउँका ग्रामथानमा गएर पूजाआजा गरी रोग व्याध नलागोस् भनेर कामना गर्ने तथा चर्म रोग नलागोस् भनेर भाण्टाको भार चढाउने र ग्रामथानहरूमा बलिसमेत दिने गरिन्छ ।
थारु समुदायका मानिसहरूले मनाउने सिरुवा पछिल्लो समयमा आएर पूर्वी तराईका अन्य जातजातिका मानिसहरूले पनि मनाउन थालेका छन् ।



