Friday, April 17, 2026
Homeफिचरनेपालले प्रस्ताव गरेको विश्व आरोग्य दिवस आज पहिलो पटक विश्वभर विभिन्न कार्यक्रमका...

नेपालले प्रस्ताव गरेको विश्व आरोग्य दिवस आज पहिलो पटक विश्वभर विभिन्न कार्यक्रमका साथ मनाइँदै

विराटचोकः नेपालको मौलिक अभ्यासलाई कूटनीतिको सौम्यशक्तिका रूपमा अगाडि बढाउँदै नेपालले अघि सारेको ‘अन्तर्राष्ट्रिय आरोग्यता दिवस’ अर्थात् ‘इन्टरनेसनल वेलनेस डे’ को सङ्कल्प प्रस्तावलाई संयुक्त राष्ट्र सङ्घको महासभाले पारित गरेसँगै आज विश्वभर विश्व आरोग्य दिवस मनाइँदैछ । अब हरेक वर्ष अप्रिल १५ मा उक्त दिवस विश्वभर मनाइने भएको छ ।

नेपालको वैश्विक प्रयास निर्णय भएर विश्वव्यापी रूपमा आरोग्यता दिवस मनाउने घोषणा संयुक्त राष्ट्र सङ्घले गर्नु नेपाल र यस क्षेत्रकै लागि गौरवको विषय मानिएको छ ।

हालै संयुक्त राष्ट्र संघको महासभाले नेपालको प्रस्तावलाई भारी मतका साथ पारित गरेको थियो । निवर्तमान परराष्ट्रमन्त्री बालानन्द शर्माले मन्त्री पद ग्रहण गरेकै दिन सो प्रस्ताव महासभामा लैजाने पहिलो निर्णय गर्नुभएको थियो । प्रस्तावमाथि छलफल भएर पारित गर्नका लागि भएको आह्वानमा छिमेकी मुलुक चीन र भारतसहित ४० देशले समर्थन जनाएका थिए ।

नेपालको पहलमा मनाइन लागेको यो दिवसले विश्वका मानिसको जीवनलाई स्वस्थ र निरोगी बनाउने पूर्वीय सभ्यतायुक्त अभ्यासलाई विश्वभर फैलाउने मात्र नभई नेपालको आफ्नो मौलिक अभ्यास विश्वमाझ परिचित गराउने बलियो माध्यम साबित हुने नेपालको विश्वास छ ।

ध्यान, योग, आरोग्यता, प्राकृतिक उपचार, आयुर्वेदिक अभ्यास र आदिवासीय अभ्याससमेतलाई समेटेर नेपालले राखेको प्रस्ताव विश्वका लागि हितकर छ भनेर संयुक्त राष्ट्र सङ्घको महासभाले स्वीकार गर्नु नेपालका लागि ऐतिहासिक उपलब्धि भएको र नेपालसँग भएको पूर्वीय ज्ञान, धार्मिक तथा यौगिक आचरण, सिप, अनुभव, अभ्यास र आरोग्यताका विधिहरू अब विश्वका सबै देशले सुन्ने, चिन्ने, अभ्यास गर्ने र अनुपालन गर्ने, गराउने कार्यले नेपाल चिनाउने अर्को आयाम थपिएको बताइएको छ ।

नेपालको अपार जैविक विविधता, यहाँका अमूल्य जडीबुटी, अतुलनीय प्राकृतिक सम्पदालाई यस दिवसले एकसाथ विश्वमाझ विचरण गराउने क्षमता राख्ने भएकाले भावी पुस्ताकै लागि अनुपम उपहार साबित हुने दाबी गरिएको छ । सौम्य कूटनीतिको अभ्याससँगै यस दिवसले आरोग्य र मानव कल्याणयुक्त पर्यापर्यटनको विकासमा सरकारका भावी योजनामार्फत् वैदेशिक अर्थ आर्जनको माध्यम बनेर सघाउने अपेक्षा गरिएको छ ।
यो प्रस्ताव संयुक्त राष्ट्र संघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापाले १० मार्चमा प्रस्तुत गर्नुभएको थियो ।
यो उपलब्धि नेपालका लागि ऐतिहासिक कूटनीतिक सफलता बताइएको छ । संयुक्त राष्ट्र संघमा पहिलो पटक अन्तर्राष्ट्रिय दिवसको घोषणाको नेतृत्व नेपालले गरेको हुनाले नेपालले यस दिवसलाई गौरवका साथ लिनुपर्ने बताइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments