विराटचोकः देशका विभिन्न भागबाट प्रकाशित हुने पत्रिकाले आज पहिलो पृष्ठमा समाचार प्रकाशन नगरी प्रश्नवाचक चिह्नमात्रै छापेका छन् । सरकारी सूचना सरकारी सञ्चारमाध्यममा मात्र प्रकाशित गर्ने निर्णयको विरोधमा यो रचनात्मक शैलीमाथि प्रश्न उठाउँदै उनीहरुले विरोध गरेका हुन् ।
धरानबाट प्रकाशित हुने ब्लाष्ट टाइम्सका साथै राजधानीबाहिरका बुटवल टुडे, दैनिक पत्र, लुम्बिनी, सुदूर सन्देश, मिशन टुडे, काँक्रेविहारलगायतका दैनिकले पहिलो पृष्ठमा समाचार प्रकाशित गरेका छैनन् ।
काठमाडौंबाट प्रकाशित दैनिकहरू नेपाल समाचारपत्र, कारोबार, राजधानी, आर्थिक अभियान, सौर्य, मध्यान्ह, प्रभाव, प्रक्षेपणलगायतले पनि प्रश्न वाचक चिह्न छापेका छन् । कतिपय पत्रिकाले पहिलो पृष्ठमा मात्रै प्रश्नवाचक चिह्न छापेका छन् । केही पत्रिकाले पहिलो र दोस्रो पेजमा प्रश्नवाचक चिह्न छापेका छन् ।
प्रधानमन्त्री कार्यालयले चैत १८ गते सूचना जारी गरी सरकारी सूचना निजी माध्यममा नछाप्ने निर्णय गरेको छ । सो विषय अहिले अदालतमा विचाराधीन छ । सरकारको कदमले प्रेस स्वतन्त्रता हनन गरेको आरोप लागेको छ ।
मिडिया एलायन्स र मिडिया सोसाइटीसँगको परामर्शमा पत्रपत्रिकाले प्रश्नवाचक चिह्न छापेको बताइएको छ ।



