इटहरीः छैटौँ अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी भेट्रान गोल्डकपको उपाधि हाम्रो इटहरी भेट्रान क्लबले जितेको छ । शनिबार सम्पन्न फाइनल खेलमा मिल्स भेट्रान क्लब विराटनगरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक टिम च्याम्पियन बनेको हो ।
खेलको दोस्रो हाफमा इटहरीले लगातार दुई गोल गरेको थियो ।
उपाधिसँगै इटहरी भेट्रानले नगद १ लाख रुपैयाँ, ट्रफी, शिल्ड र मेडल प्राप्त गरेको छ । उपविजेता मिल्स भेट्रानले ५० हजार रुपैयाँसहित ट्रफी, शिल्ड र मेडलमा चित्त बुझाएको छ ।
प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरू पनि पुरस्कृत भएका छन् । फाइनल खेलको ‘म्यान अफ द म्याच’ भुपाल विष्ट घोषित भए । यस्तै, बेस्ट गोलकिपर सुनिल तामाङ र बेस्ट डिफेन्डर रामशरण चौधरी घोषित भए । उनीहरु दुवै जना आयोजक टिमका खेलाडी हुन् ।
मिल्स भेट्रानका डेनिम राई बेस्ट मिडफिल्डर र इटहरीका लिलाराम मगर बेस्ट फरवार्ड घोषित हुँदै पुरस्कार पाए । धेरै गोल गर्ने तीर्थ याक्सो र उत्कृष्ट प्रशिक्षक दिपेन तामाङले पनि नगद पुरस्कार पाए । प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडी दिवस राई घोषित भई नगद ३ हजार ५ सय रुपैयाँ प्राप्त गरे ।



