Monday, April 13, 2026
Homeअर्थमन्त्रिपरिषद्का सदस्यको सम्पत्तिः सामाजिक सञ्जाल, सुन, घरजग्गा र शेयर मुख्य

मन्त्रिपरिषद्का सदस्यको सम्पत्तिः सामाजिक सञ्जाल, सुन, घरजग्गा र शेयर मुख्य

विराटचोकः नयाँ सरकार बनेको १७ औँ दिनमा मन्त्रिपरिषद्का सदस्यहरूले सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । हिजो सार्वजनिक सम्पत्ति विवरण हेर्दा मन्त्रिपरिषद्का सबै सदस्यहरूको व्यक्तिगत र पारिवारिक आर्थिक अवस्था उन्नत देखिन्छ । अधिकांश मन्त्री उच्च वर्गका र केही मध्यम आर्थिक अवस्थाका देखिन्छन् ।

भ्रष्टाचार निवारण ऐनमा मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रावधान छ । तर यसरी बुझाएको विवरण सार्वजनिक गर्नैपर्ने कानुनी बाध्यता छैन । त्यसैले विवगतका केही मन्त्रिपरिषद्ले विवरण बुझाए पनि सार्वजनिक गरेका थिएनन् ।

जेनजी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको सरकारका मन्त्रीहरूले पनि विवरण सार्वजनिक गरेका थिएनन् ।

यस्तो छ वर्तमान मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण

प्रधानमन्त्रीको सम्पत्तिको मुख्य स्रोत सामाजिक सञ्जाल
प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सम्पत्ति विवरणमा आफ्नो मुख्य कमाईको स्थल समाजिक सञ्जाललाई देखाएका छन् । प्रधानमन्त्री शाहले आफ्नो बैंक ब्यालेन्स १ करोड ४६ लाख रुपैयाँ रहेको खुलाएका छन् । जसको स्रोत समाजिक सञ्जाल हो ।

उनको फेसकुबमा ४० लाख, युट्युबमा १२ लाख, एक्समा ५ लाख फलोअर्स रहेका छन् । उनको नाममा घरजग्गा छैन । उनको आमा र बुवाको नाममा भने पर्याप्त जग्गाजमिन छ । प्रधानमन्त्री शाहकी पत्नी सबिना काफ्लेसँग सुन, चाँदी, हिरा लगायतका गरगरहना १९० तोला रहेको छ । आमाको नाममा काठमाडौंमा ५ आना जग्गा घर, धनुषामा डेढ बिगाहामा घर र महोत्तरीमा बाबुको नाममा ९ बिगाहा जग्गा रहेको छ ।

अर्थमन्त्री वाग्लेसँग घर, बैंक ब्यालेन्स र शेयर
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले चारवटा घर र अपार्टमेन्ट रहेको खुलाएका छन् । लामो समय विदेशमा बसेर जागिर गरेका वाग्ले आफ्नो सम्पत्तिको मुख्य स्रोत नै त्यही देखाएका छन् । उनको ललितपुरको सानेपामा (अपार्टमेन्ट) २ करोडको, ललितपुरमा ५ करोडको, काभ्रेमा अपार्टमेन्ट ३ करोड ७५ लाख, तनहुँमा २ करोडको घर रहेको उल्लेख गरेका छन् । उनको बैंक ब्यालेन्स १ करोड ९० लाख रुपैयाँ छ । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले आफूसँग ४५ तोला सुन रहेको खुलाएका छन् ।

उनले सानिमा मिडल तमोर हाइड्रोमा प्रमोटर शेयर ७१ हजार ९३ कित्ता, सांग्रिला विकास बैंकमा प्रमोटर शेयर २५ हजार ७६२ कित्ता रहेको खुलाएका छन् । नेशनल फन्ड म्यानेज्मेन्ट लिमिटेडमा ९० लाख रुपैयाँ, ठूलो लखोलामा ६० लाख, अपर मादी हाइड्रोमा ३ करोड रुपैयाँको शेयर र ९४ लाख रुपैयाँको गाडी उनीसँग छ ।

अर्थमन्त्रीसँग ऋण पनि छ । ग्लोबल आइएमई बैंकबाट १ करोड ५ लाख रुपैयाँ र व्यक्तिगत सापटी २ करोड ५० लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् । राष्ट्रिय वाणिज्य बैंकबाट लिउको ३८ लाख र स्ट्याण्डर्ड चार्टड बैंकबाट लिएको ७५ लाख रुपैयाँ ऋण तिरिसकेको उनले जनाएका छन् ।

परराष्ट्रमन्त्री शिशिर खनालको नाममा शेयर, बाबुको नाममा घरजग्गा

परराष्ट्रमन्त्री शिशिर खनाल र श्रीमतीको नाममा विभिन्न कम्पनीमा शेयर रहेको छ । उनीसँग बैंक ब्यालेन्स १३ लाख रुपैयाँ र सुन २२ तोला रहेको छ । बुवा सूर्यभक्त खनालको नाममा काठमाडौंमा ६ आनामा बनेको घर रहेको छ । बुवाकै नाममा तनहुँ नवलपुर र नेपालगञ्जग गरी २८ रोपनी र २ कठ्ठा जग्गा छ ।

ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग सुन, बैंक ब्यालेन्स र शेयर
ऊर्जामन्त्री विराजभक्त श्रेष्ठसँग १५ तोला सुन र ५० तोला चाँदी रहेको छ ।सुन र चाँदी पैतृक सम्पत्ति र विवाहमा प्राप्त गरेको उनले उल्लेख गरेका छन् । उनले विभिन्न बैंकमा ६४ लाख ६३६ रुपैयाँ ब्यालेन्स रहेको उल्लेख गरेका छन् ।

उनीसँग ४५ लाख ४८ हजार ४२० रुपैयाँको शेयर तथा गाडी, स्कुटर र विद्युतीय गाडी रहेको छ ।

गृहमन्त्री सुधन गुरुङसँग जग्गा, सुन र शेयर
गृहमन्त्री सुधन गुरुङसँग ८९ तोला सुन छ । उनको नाममा धनकुटामा १९ रोपनी १५ आना जग्गा रहेको र सो जग्गा लगानीबाट जोडेको सम्पत्ति विवरणमा उल्लेख छ ।

गुरुङका पिता दिलबहादुर गुरुङको नाममा चितवनको भरतपुर–१८ गुञ्जनगरमा ३० कठ्ठा र बाजे रामसल गुरुङको (बाँडफाँट नभएको) नाममा गोरखाको चुमनुब्रीमा २ सय २१ रोपनी जग्गा रहेको उल्लेख छ ।

गृहमन्त्री गुरुङको शेयर मार्केटमा ४ करोड ३१ लाख बढी लगानी देखिएको छ । जसमा होप होल्डिङ्स प्रालिमा ३० हजार थान साधारण शेयर रहेको उल्लेख छ । लगुम प्रिमियम अपार्टमेन्ट्स प्रालिमा ५ हजार ७ सय थान साधारण शेयर रहेको उनले सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

सबैभन्दा बढी लगानी ‘धितोपत्र बजारमा कारोबार हुने शेयरहरू’ २ करोड ७४ लाख ५६ हजार २ सय रहेको उल्लेख छ ।

कानुनमन्त्री सोबिता गौतमसँग साढे १० लाख रुपैयाँ बैंक ब्यालेन्स

कानुनमन्त्री सोविता गौतमले आफ्नो सम्पत्ति विवरणमा काठमाडौं र चितवनमा दुई वटा घर रहेको उल्लेख गरेकी छिन् । श्रीमान् गृहेन्द्र घिमिरेको नाममा काठमाडौंमा र सासूआमा कृष्णदेवीको नाममा चितवनमा घर रहेको छ । उनले बैंक ब्यालेन्सस्वरुप १० लाख ५० हजार ३३५ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेकी छिन् ।

गाडी खरिदका लागि राष्ट्रिय वाणिज्य बैंकबाट २० लाख रुपैयाँ ऋण लिएर ७ लाख तिरेको उनले उल्लेख गरेकी छिन् । एभरेष्ट बैंकबाट गाडी खरिदकै लागि २५ लाख रुपैयाँ ऋण लिएको उनले जनाएकी छिन् । उनले १५ तोला सुन, ९ तोला चाँदी र १ तोला हीरा सम्पत्तिको रुपमा देखाएकी छिन् ।

महिला मन्त्री सीता वादीसँग १८ तोला सुन, पशुधन र सवारी साधन

महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सीता वादीसँग पशुधनको रुपमा २० वटा कुखुरा र एउटा कुकुर रहेको छ । एउटा स्कुटर, तीन वटा ल्यापटप र २ वटा मोबाइल सम्पत्ति विवरणमा उल्लेख गरेकी छिन् ।

नगद ५० हजार रुपैयाँ र बैंकमा उनी र श्रीमान्को नाममा १५ लाख रुपैयाँ रहेको उल्लेख छ । मन्त्री वादीसँग सुन १८ तोला र चाँदी १५ तोला रहेको र सुन–चाँदी विवाहमा प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ । मन्त्री वादीको नाममा सुर्खेतमा ८९.६५ वर्ग मिटर क्षेत्रफलको जग्गा रहेको छ ।

भौतिकमन्त्री सुनिल लम्सालसँग ९० लाख बैंक ब्यालेन्स, सुनचाँदी, घर र खेतबारी
भौतिक पूर्वाधार तथा यातायात, सहकारी विकास मन्त्री सुनिल लम्सालसँग ९० लाख रुपैयाँ बैंक ब्यालेन्स छ । उनीसँग ३० तोला सुन र ५० तोला चाँदी रहेको छ । परिवारका सदस्यका नाममा रुपन्देहीमा १ कठ्ठा १० धुर जग्गामा घर, नवलपरासीमा १० कठ्ठा १५ धुर जग्गा, स्याङ्जामा ७ रोपनी खेत र २२ रोपनी बारी रहेको छ ।

संघीय मामिलामन्त्री प्रतिभा रावलको सम्पत्ति जग्गा, सुनचाँदी र बैंक ब्यालेन्स

संघीय मामिला तथा सामान्य प्रशासन, भूमि व्यवस्था सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलको काठमाडौंमा जग्गा छ । यसको स्रोत श्रीमानको आय भनिएको छ ।

काठमाडौंको बुढानीलकण्ठमा ७० लाख र बारामा ५० लाखको जग्गा रहेको छ । २५ तोला सुन स्वआर्जन तथा परिवारको उपहारमार्फत् प्राप्त भएको उल्लेख छ ।

विभिन्न बैंकमा २४ लाख रुपैयाँ कम बचत रहेको तथा २० लाख रुपैयाँ एभरेष्ट बैंकबाट २०८२ साल जेठमा ऋण लिएको र ४४ लाख रुपैयाँको गाडी पनि रहेको उनको सम्पत्ति विवरणमा उल्लेख छ ।

शिक्षामन्त्री सस्मित पोखरेलसँग व्यक्तिगत र परिवारका नाममा गरी २० करोड रुपैयाँको अचल सम्पत्ति

सरकारका प्रवक्ता शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद मन्त्री सस्मित पोखरेलसँग व्यक्तिगत र परिवारको नाममा करोडौंको अचल सम्पत्ति रहेको छ ।

उनले बुवा, आमा, मावली हजुरआमा र दिदीबहिनीसहितको संयुक्त नाममा ७ ठाउँमा करिब साढे २० करोडको अचल सम्पत्ति रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । काठमाडौं, मोरङ र ललितपुरमा घरजग्गा रहेको विवरणमा उल्लेख छ ।

उनीसँग २५ तोला सुन, सय तोला चाँदी तथा आफ्नो बैंक खातामा ४ लाख ४७ हजार ९९४ रुपैयाँ मौज्दात रहेको उल्लेख गरेका छन् । डलर खातामा अमेरिकी डलर ५ रहेको उल्लेख छ । उनले पारिवारिक सदस्यसहितले संयुक्त रुपमा शेयर कारोबारमा पनि लगानी गरेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् ।

बुवा रमेशकुमार पोखरेलसहितका सदस्यहरूले पीएमएस होल्डिङ्समा विभिन्न कम्पनीका शेयरहरू करिब ३० लाख बराबरको लगानी गरेको उल्लेख गरेका छन् ।

बुवा रमेशकुमारकै राष्ट्रिय बचत पत्रमा ९६ लाख ९० हजार रुपैयाँ बराबरको रकम राष्ट्र बैंकबाट निवृत्त हुँदा पाएको रकमले शेयर खरिद गरेको उल्लेख छ ।

आमा मिनाक्षी ओझा पोखरेलको नाममा राष्ट्रिय बचत पत्रमा ५० लाख रुपैयाँ बराबरको शेयर रहेको उल्लेख गरेका छन् ।

उनले आफू र आमा मिनाक्षीको नाममा ७५ लाख रुपैयाँ ऋण रहेको उल्लेख गरेका छन् ।

२४ करोड १६ लाख २७ हजार रुपैयाँ सम्पत्ति र ऋण ७५ लाख रहेको उल्लेख गरेका छन् ।

कृषिमन्त्री गीता चौधरीसँग माइतीले दिएको पशुधनका साथै सुनचाँदी र बैंक ब्यालेन्स

कृषि तथा पशुपन्छी र वन तथा वातावरण मन्त्री गीता चौधरीसँग माइतीले दिएको २ वटा बाख्रा र १० कुखुरा रहेको जनाइएको छ ।

५० हजार रुपैयाँ पर्ने घडी, ९० हजार रुपैयाँ पर्ने मोबाइल र ७५ हजार रुपैयाँ पर्ने ल्यापटप पनि उनको नाममा छ ।

५ तोला सुन र १०० तोला चाँदी रहेको छ । उक्त सुन र चाँदीको आयस्रोत पैतृक र स्वआर्जन रहेको जनाइएको छ । ५ वटा बैंकमा गरी मन्त्री चौधरीको नाममा १ लाख २६ हजार रुपैयाँ रहेको छ ।

मन्त्री चौधरीले ऋण काढेर एउटा स्कुटर खरिद गरेको उल्लेख छ । स्कुटर खरिद गर्दा लिएको १ लाख ५० हजार मध्ये ८४ हजार रुपैयाँ भुक्तानी गरिसकेको उल्लेख छ । स्वआर्जनबाट ३ लाख ३० हजार मूल्यको अर्को पनि स्कुटर रहेको सम्पत्ति विवरणमा उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments