विराटचोकः पाँचौँ अन्तर्राष्ट्रिय विराट भेट्रान गोल्डकप फुटबल प्रतियोगिताको उपाधि भारतको खर्साङ लिजेण्ड टिमले जितेको छ । विराट भेट्रानको उपाधि पहिलो पटक देशबाहिर गएको हो ।
मोरङको सुन्दरहरैँचा नगरपालिका वडा नम्बर १० स्थित सुकुना खेलमैदानमा सम्पन्न फाइनल खेलमा झापाको दुधे भेट्रानलाई १–० गोल अन्तरले पराजित गर्दै खर्साङ लिजेण्ड च्याम्पियन बनेको हो । खेलको निर्णायक गोल सोनाम चोङले गरेका थिए । उनी नै खेलको म्यान अफ दि म्याच घोषित भए ।
विजेता टिमले नगद १ लाख १ हजार १११ रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।
खेलभर दुधे भेट्रानमाथि दबाब सिर्जना गरेको खार्साङले आक्रामक प्रदर्शन गरेको थियो । दुधे भेट्रान झापाले केही उत्कृष्ट अवसर पाए पनि गोलमा परिणत गर्न नसक्दा उपविजेतामै चित्त बुझाएको थियो । उपविजेतासँगै दुधेले ५५ हजार ५५५ रुपैयाँ र शिल्ड प्राप्त गरेको छ ।
फाइनल खेलको समापन समारोहमा सुन्दरहरैँचा नगरपालिकाका नगरप्रमुख केदारप्रसाद गुरागाईं प्रमुख अतिथि हुनुहुन्थ्यो ।
खेलअवधिभरमा खर्साङका सुरज लामा उत्कृष्ट गोलरक्षक घोषित भए । मिल्स भेट्रानका तेजमान लिम्बू प्रतियोगिताको उच्च गोलकर्ता बने । उनले प्रतियोगिताभरमा तीन गोल गरेका थिए ।
विराट भेट्रान क्लब, सुन्दरहरैँचाको आयोजनामा चैत २१ देखि २८ गतेसम्म भएको प्रतियोगितामा आयोजक विराट भेट्रान क्लबसहित काँकडभिट्टा भेट्रान (झापा), दुधे भेट्रान (झापा), हाम्रो धरान भेट्रान (सुनसरी), भरौल भेट्रान (सुनसरी), खर्साङ भेट्रान (भारत), पथरी भेट्रान (मोरङ) र मिल्स भेट्रान (मोरङ) गरी आठ टोलीको सहभागिता रहेको थियो ।
समापन समारोहमा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेण्डर, उच्च गोलकर्ता, उत्कृष्ट प्रशिक्षकलगायत विभिन्न विधागत पुरस्कार पनि प्रदान गरिएको थियो । कार्यक्रम सञ्चालन आयोजक क्लबका सचिव रञ्जन शर्माले गरेका थिए । समारोहमा म्याच कमिस्नर दुर्गाकुमार श्रेष्ठ तथा मानार्थ सदस्य खगेन्द्र थापालगायतको उपस्थिति रहेको थियो ।



