विराटचोकः इलाका प्रहरी कार्यालय बेलबारी र विराटचोकको सहकार्य तथा जिल्ला प्रहरी कार्यालय मोरङको आयोजनामा मोरङको सुन्दरहरैँचा १० स्थित उद्योग वाणिज्य संघको सभाहलमा शनिबार नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख कवित कटवालले नागरिकबाट उठेका विभिन्न जिज्ञासाको जवाफ दिनुका साथै प्रहरीले गर्ने कामको बारेमा उपस्थित व्यक्तिलाई जानकारी गराउनुभएको थियो ।
प्रहरी र नागरिकबीच समन्वय बढाउँदै समाज सुधार गर्ने उद्देश्यले आयोजित कार्यक्रममा इलाका प्रहरी कार्यालय बेलबारीबाट पछिल्लो ६ महिनामा भएका कामको बारेमा जानकारी गराइएको थियो । इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीका अनुसार पछिल्लो ६ महिनाको अवधिमा इलाका प्रहरी कार्यालय बेलबारीमा २६० वटा मुद्दा दर्ता भएका छन् । त्यसमध्ये आत्महत्या, सवारी दुर्घटना, जबर्जस्ती करणी तथा लागूऔषध सम्बन्धी मुद्दाहरू बढी छन् ।
सुनुवाइ कार्यक्रमका सहभागीहरूले लागूऔषध नियन्त्रण, चोरी, गुण्डागर्दी, सवारी व्यवस्थापन, ट्राफिक जाँचमा हुने असजिलो, साइबर बुलिङ, फेक आइडीमार्फत हुने ठगी, विद्यालयस्तरमा सचेतना कार्यक्रम तथा मेलापर्वमा सुरक्षा व्यवस्थापनजस्ता विषयमा चासो व्यक्त गरेका थिए ।
सुन्दरहरैंचा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कार्कीले लागूऔषध नियन्त्रणमा कडाइ गर्न तथा ट्राफिक प्रहरीले जनचेतनामूलक गतिविधिमा ध्यान दिनुपर्ने बताउनुभयो ।
संघका पूर्वअध्यक्ष नवराज चापागाईंले साइबर अपराध नियन्त्रण र लागूऔषध न्यूनीकरणका लागि सहकार्य आवश्यक रहेको धारणा राख्नुभएको थियो ।
स्थानीय सन्तोष खड्का, समाजसेवी सुरेन्द्रबहादुर थापा लगायतले लागूऔषध प्रयोगकर्ता बढ्दै गएको भन्दै नियन्त्रणका लागि विद्यालयस्तरमा जनचेतना आवश्यक रहेको बताउनुभएको थियो ।
कविता बजगाईं र सीता राईले समाजमा बलात्कारका घटना बढ्दै गएको उल्लेख गर्दै कडा कानुनी व्यवस्था गर्नुपर्नेमा जोड दिनुभएको थियो ।
पूर्व नगरप्रमुख शिवप्रसाद ढकालले आत्महत्या न्यूनीकरणका कार्यक्रम सञ्चालन गर्नुपर्ने, अपराधीलाई उन्मुक्ति दिन नहुने तथा ट्राफिक व्यवस्थापनलाई व्यवस्थित बनाउनुपर्ने धारणा राख्नुभएको थियो ।
नगरप्रमुख केदारप्रसाद गुरागाईंले विद्यालय र परिवारबाटै लागूऔषध नियन्त्रणमा पहल गर्नुपर्ने र पालिकाले पनि काम गर्दै आएको बताउनुभएको थियो ।
यसैगरी जेनजी आन्दोलनसँग सम्बन्धित घटनाका दोषीलाई तत्काल कारबाही गर्नुपर्ने र यस्ता घटनामा कारबाही नगरे नागरिकले प्रहरीमाथि विश्वास गर्न नसक्ने बताउनुभएको थियो । समाज सुधारका लागि घरपरिवारले बालबालिकामाथि विशेष ध्यान दिनुपर्नेमा उहाँको जोड थियो ।
कार्यक्रममा बोल्दै प्रहरी प्रमुख कटवालले प्रहरीभित्र पनि कमजोरी हुन सक्ने स्वीकार गर्दै सुधारका लागि नागरिकका सुझाव महत्वपूर्ण हुने बताउनुभयो । प्रहरी जनताको सेवामा समर्पित रहेको भन्दै कानुनअनुसार निष्पक्ष रूपमा काम गर्ने र समाजमा हुने अपराध नियन्त्रणका लागि सूचना आदानप्रदान आवश्यक रहेको उहाँले बताउनुभयो ।
जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा मुद्दा दर्ता भइसकेको र कानुनी प्रक्रिया अघि बढाइएको तथा नागरिकबाट प्राप्त सुझावलाई कार्यान्वयन गर्ने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभएको थियो ।
इलाका प्रहरी कार्यालय बेलबारीका प्रमुख राजीव गिरीले सञ्चालन गर्नुभएको कार्यक्रममा सुन्दरहरैंचा नगरपालिकाका व्यवसायी, उद्योगी, राजनीतिक व्यक्तित्व, समाजसेवी, निजी विद्यालय सञ्चालकहरुका संस्था प्याब्सन र एन प्याब्सनका प्रतिनिधि, सञ्चारकर्मीलगायतको उपस्थिति रहेको थियो ।



