विराटचोकः राष्ट्रिय सभा र प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले जनताको भावना अनुसार नयाँ बनेको सरकारले जनकल्याणकारी कानुन निर्माण र त्यसको परिणाममुखी कार्यान्वयनको काम गर्नेमा आफू विश्वस्त रहेको बताएका छन् ।
‘पटकपटक भएका जनआन्दोलन, संघर्ष र पछिल्लो पटक युवा पुस्ताको आन्दोलनमार्फत नेपाली जनताले प्रकट गरेको मर्म, भावना र चाहना पनि यही थियो,’ राष्ट्रपति पौडेलले भने, ‘जनताको चाहना पूरा गर्न संसद्ले नागरिक केन्द्रित जनकल्याणकारी कानुनी निर्माण गर्नुपर्छ । निर्माण भएका कानुनको मर्म र भावना अनुरुप प्रभावकारी र परिणामुखी कार्यान्वयनको सुनिश्चितता सरकारले दिनेछ भन्नेमा म विश्वस्त छु ।’
न्यायपालिकाबाट छिटो, छरितो, स्वतन्त्र र निष्पक्ष न्याय सम्पादन हुँदा मात्रै शहीदहरूप्रति साँचो अर्थमा सम्मान हुने उनको भनाइ थियो ।



