इटहरीः विवादास्पद व्यवसायी दीपक भट्टलाई नियमविपरीत उधारोमा शेयर खरीद गराएको र भुक्तानी प्रक्रियामा गम्भीर लापरबाही गरेको आरोपमा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ५५ नम्बरको धितोपत्र दलाल कम्पनी ‘भृकुटी स्टक ब्रोकिङ’ लाई निलम्बन गरेको छ ।
हिजोको बोर्ड बैठकले कम्पनीलाई निलम्बन गर्ने निर्णय गरेको हो । सोमबार बसेको बोर्ड बैठकले ५५ नम्बरको भृकुटी स्टक ब्रोकिङ कम्पनीलाई अर्को निर्णय नहुन्जेलसम्मको लागि निलम्बन गर्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको जनाइएको छ ।
सम्पत्ति शुद्धीकरण विभागले गरेको अनुसन्धानका क्रममा भृकुटी स्टकले गम्भीर वित्तीय विचलन गरेको भेटिएपछि बोर्ड र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई कारबाहीका लागि पत्राचार गरेको थियो । विभागका अनुसार, दीपक भट्टले नेपाल पुनर्बीमा कम्पनीलगायतको शेयर खरिद गर्दा आफ्नो बैंक खाताबाट नभई अन्य विभिन्न व्यक्ति र खाताहरूबाट भुक्तानी गरेको पाइएको थियो ।
धितोपत्र कारोबारको विद्यमान व्यवस्था अनुसार शेयर खरिद गर्नुअघि ब्रोकरले लगानीकर्ताबाट कम्तीमा २५ प्रतिशत पेस्की (मार्जिन) रकम लिनुपर्ने प्रावधान छ । तर, ५५ नम्बर ब्रोकरले उक्त नियम पालना नगरी भट्टलाई उधारोमा कारोबारको सुविधा दिएको र तेस्रो व्यक्तिको खाताबाट भुक्तानी स्वीकार गरी सम्पत्ति शुद्धीकरणसम्बन्धी जोखिम बढाएको विभागको निष्कर्ष छ ।
बोर्डको यो निर्णयसँगै भृकुटी स्टकले अर्को आदेश नभएसम्मका लागि कुनै पनि शेयर कारोबार गर्न पाउने छैन ।
काठमाडौंमा केन्द्रीय कार्यालय भएको सो ब्रोकरले इटहरी, हेटौंडा, बेनी, बर्दिबास, चरिकोट, वीरगञ्ज, धुलिखेल, भैरहवा र सुर्खेतमा शाखा कार्यालय राखेर धितोपत्रको किनबेच गराउने गर्दछ ।



