विराटचोकः साताको दोस्रो कारोबार दिन हिजो शेयरबजार सम्हालिएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ३.११ प्रतिशत अर्थात् ८३.३३ अङ्कले बढेर २ हजार ७६०.०२ बिन्दुमा अडिँदा बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि ३.१२ प्रतिशतले बढेर ४७१.९२ बिन्दुमा रोकिएको छ ।
हिजो नेप्सेमा सूचीकृत ३४५ कम्पनीको २ करोड ५१ लाख ५५ हजार ८५४ कित्ता शेयर १ लाख २४ हजार ९३ पटक किनबेच हुँदा १० अर्ब ९२ करोड ८५ लाख ६ हजार ८६३ रुपैयाँको शेयर कारोबार भएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारका माग सम्बोधन गर्ने भनी अभिव्यक्ति दिएपछि बजार फर्किएको अनुमान गरिएको छ । अस्वभाविक रुपमा बजार घटेपछि ब्रोकर एसोसिएसनले अर्थमन्त्रीसँग भेटेर पूँजीबजार सुधारसम्बन्धी मागहरु पनि राखेका छन् ।
कारोबारमा आएका १३ वटै समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक अर्थात् ४.५९ प्रतिशतले बढेको छ । बैंकिङ समूह ३.१८ प्रतिशत, विकास बैंक ३.६३, फाइनान्स ४.०३, होटल ३.२४, लगानी ३.३३, जीवन बीमा २.६६, उत्पादन तथा प्रशोधन १.५३, लघुवित्त २.४३, सामुहिक लगानी कोष १.४०, निर्जीवन बीमा २.९४, अन्य २.३६ र व्यापार समूह २.४० प्रतिशतले बढेका छन् ।
रिलायन्स स्पिनिङ मिल्सको सर्वाधिक १ अर्ब १३ करोड ५८ लाख ५८ हजार १५४ रुपैयाँको शेयर किनबेच भएको छ । हिमालयन रि इन्स्योरेन्स, एनआरएन इन्फ्रास्ट्रक्चर, अपि पावर र रिडी पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
बजार बढेसँगै ८वटा कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको छ । उपकार लघुवित्त, भुजुङ हाईड्रो, रिडी पावर कम्पनी, नेशनल हाईड्रो, सुपर खुदी हाइड्रो, रिज लाइन इनर्जी, सूर्यकुण्ड हाइड्रो र होटल फरेस्ट इनको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।
बजार बढे पनि लक्ष्मी बैंक डिबेन्चरको मूल्य सर्वाधिक अर्थात् ३.१० प्रतिशतले घटेको छ ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४६ खर्ब ९२ अर्ब ३४ करोड २८ लाख ९८ हजार ७४७ रुपैयाँ कायम भएको छ ।



