विराटचोकः सुन्दरहरैंचा नगरपालिकाको आयोजनामा ‘कम्युनिटी विपद् फस्ट रेस्पोन्डर’ सम्बन्धी ३ दिवसीय विपद् प्रतिकार्य तालिम सुन्दरहरैंचाको सलकपुरमा शुरु भएको छ ।
सो तालिममा प्रत्येक वडाबाट २ जना रेडक्रस र स्काउट सहितको संयुक्त अभ्यास भइरहेको नगरपालिकाले जनाएको छ । वडा नम्बर ८ भुल्के मन्दिर परिसरमा आयोजित तालिममा सहभागीलाई सशस्त्र प्रहरी बल लक्ष्मीमार्गका प्रहरी निरीक्षक रवि खकुराल र सशस्त्र प्रहरी नायब उपरीक्षक होमराज न्यौपानेले विपद्का विषयमा प्रशिक्षण दिनुभएको थियो ।
विपद्बाट हुने क्षति न्यूनीकरण गर्ने लक्ष्यका साथ कार्यक्रम आयोजना गरिएको सुन्दरहरैंचा नगरपालिकाका नगर प्रमुख केदारप्रसाद गुरागाईँले बताउनुभयो ।
तालिममा पहिलो दिन प्राथमिक उपचार, चोटपटक तथा रक्तश्राव नियन्त्रण जस्ता विषय समेटिएको थियो । दोस्रो दिन पानीमा खोज तथा उद्धार, तीव्र बहावमा उद्धार तथा तेस्रो दिन आगलागी नियन्त्रण, वन डढेलो व्यवस्थापनसम्बन्धी तालिम भएको नगरपालिकाका विपद् व्यवस्थापन शाखा प्रमुख वासुदेव अधिकारीले बताउनुभयो ।



