काठमाडौंः शेयर बजारमा देखिएका विद्यमान समस्या समाधानका लागि स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई ६ बुँदे सुझावपत्र बुझाएको छ । एसोसिएसनका प्रतिनिधिहरूले अर्थ मन्त्रालय पुगेर पूँजीबजारको विकास र विस्तारका लागि तत्काल चाल्नुपर्ने कदम उल्लेख गरी सुझावपत्र दिएका हुन् ।
यस्ता छन् एसोसिएसनले अघि सारेका मागहरूः
१. सुधार कार्यदलको सुझाव कार्यान्वयनः पूँजीबजार सुधारका लागि विभिन्न समयमा गठित कार्यदलले दिएका तर कार्यान्वयन हुन बाँकी रहेका सुझावहरू तत्काल लागू गरिनुपर्ने ।
२. बैंक तथा वित्तीय संस्थालाई सहज प्रवेशः बैंक तथा वित्तीय संस्थाहरूलाई पूँजी बजारमा सहज रूपमा प्रवेश र बाहिरिन सक्ने व्यवस्था गर्नुपर्ने । साथै, हाल रहेको शेयर खरिद गरेपछि ६ महिनासम्म बिक्री गर्न नपाइने व्यवस्था हटाउनुपर्ने ।
३. गैर आवासीय नेपालीलाई प्रवेशः गैर आवासीय नेपालीहरूलाई दोस्रो बजारमा सहज रूपमा शेयर कारोबार गर्न पाउने व्यवस्था तत्काल मिलाउनुपर्ने ।
४. पूँजीगत लाभकर र संस्थागत लगानीः बजेटमार्फत् पूँजीगत लाभकरलाई नै अन्तिम कर (फाइनल ट्याक्स) हुने गरी स्पष्ट पार्नुपर्ने । साथै, सरकारी संस्थान र विभिन्न कोषहरूको रकमलाई दोस्रो बजारमा लगानी गर्ने वातावरण बनाई लगानीकर्ताको मनोबल बढाउनुपर्ने ।
५. अक्सन मार्केटको शुरुवातः हाल शेयर हस्तान्तरण हुन नसक्दा सिधै ‘क्लोज आउट’मा गएर लगानीकर्ताले जरिवाना तिर्नुपर्ने अवस्था छ । यसलाई अन्त्य गर्न र बजारलाई थप सुरक्षित बनाउन ‘अक्सन मार्केट’ यथाशीघ्र सञ्चालनमा ल्याउनुपर्ने ।
६. सेटलमेन्ट ग्यारेन्टी फण्डः वि.सं. २०७५ मा नियमावली र २०७९ मा कार्यविधि बने पनि हालसम्म कार्यान्वयनमा नआएको ‘सेटलमेन्ट ग्यारेन्टी फण्ड’ (राफसाफ सुनिश्चितता कोष) लाई नियामक निकायमार्फत् निर्देशन दिएर तत्काल कार्यान्वयनमा ल्याउनुपर्ने ।
सुझावपत्रमा एसोसिएसनका महासचिव भक्तिराम घिमिरेले हस्ताक्षर गरेका छन् ।
सुझावपत्र ग्रहण गर्दै अर्थमन्त्री डा. वाग्लेले सरकारले शेयर बजारलाई अनावश्यक रुपमा नचलाउने बताएका थिए ।



