विराटचोकः म्याग्दीबाट स्वतन्त्र उम्मेद्वारी दिएर निर्वाचित सांसद महावीर पुनले प्रतिनिधिसभामा आफ्नो भूमिका कुनै पक्ष–विपक्ष भन्दा पनि निष्पक्ष हुने बताएका छन् ।
आज शुरु भएको प्रतिनिधिसभाको पहिलो बैठकमा सांसद पुनले आफू आउनै नपर्ने मान्छे आएको बताउँदै आफू निष्पक्ष रहने बताएका हुन् । आफू अचम्मको सांसदको रूपमा यहाँ आएको र बोल्ने तरिका, काम गर्ने तरिका धेरैसँग नमिल्ने बताउँदै आउनै नपर्ने मान्छे संसदमा आइपुगेको उनको भनाइ थियो ।
आफ्नो आत्मकथा बेचिरहेको बेला जेनजी आन्दोलनपछि जेनजीहरूले बोलाएर शिक्षा मन्त्री बनाएको र चार महिना शिक्षा मन्त्री रहँदा शिक्षा क्षेत्रका अनेकौं समस्या, चरम राजनीतिकरण विकृति देखेको उनले बताए । ती विकृति हटाउने आवाज उठाउनका लागि आफू संसदमा छिरेको उनको भनाइ थियो ।
आफूले ल्याएका तीनवटा विधेयकको मस्यौदा बनाएर अध्यादेश ल्याउन र चारवटा नियमावली ल्याउन प्रयास गर्दा कामचलाउ सरकार भएकाले त्यो नसकिएको हुनाले मन्त्री पदबाट राजीनामा दिएर चुनाव लड्न गएको उनले बताए ।
आफू शिक्षा मन्त्री हुँदा ल्याउन खोजेका विधेयक र नियमावली मस्यौदा प्रधानमन्त्री बालेन्द्र शाहको शिक्षा हेर्ने टिमलाई दिइसकेको उनले बताए ।



