विराटचोकः आजदेखि लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलमा प्रतिलिटर १५ रुपैयाँका दरले मूल्य बढाएको छ ।
वृद्धि गरिएको मूल्य अनुसार अब तेस्रो वर्ग अर्थात् काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर २०२ रुपैयाँ पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८२ रुपैयाँ पुगेको छ ।
दोस्रो वर्गमा रहेका सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर २०१ रुपैयाँ पुगेको छ । त्यहाँ डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १८१ रुपैयाँ पुगेको छ ।
पहिलो वर्गअन्तर्गत रहेका चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १९९ रुपैयाँ ५० पैसा पुगेको छ । डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १७९ रुपैयाँ ५० पैसा पुगेको छ ।
यो मूल्य समायोजनपछि पनि १५ दिनमा ११ अर्ब ७१ करोड निगमलाई घाटा हुने जनाइएको छ ।
निगमले बुधबारदेखि लागू हुने गरी हवाइ इन्धनको मूल्य दोब्बरले बढाएको थियो ।



