विराटचोकः आज अप्रिल फुल अर्थात् मूर्ख दिवस हो । हरेक वर्षको अप्रिल १ मा अरुलाई मूर्ख बनाउने (ढाँट्ने) गरिन्छ । यो दिवसको मर्मविपरीत गलत तरिकाले व्याख्या भएपछि दिवसलाई त्यत्ति महत्वका साथ मनाइँदैन ।
यस पटक भने नेपाल प्रहरीले नै सर्वसाधारणलाई मूर्ख बनाएको (ढाँटेको) छ । आज अप्रिल फुलको अवसरमा सचेतना अभियान चलाउँदै प्रहरीले आफ्नो सामाजिक सञ्जालमा एउटा क्युआर कोड सार्वजनिक गरेको छ ।
‘तपाईंविरुद्ध कतै कुनै उजुरी वा निवेदन परेको त छैन ?, सुनिश्चित गर्न क्यु आर कोड स्क्यान गर्नुहोस्’ लेखिएको क्यु आर प्रहरीले सामाजिक सञ्जालमा राखेको छ । सो क्यु आर कोड स्क्यान गरेपछि अप्रिल फुल भन्दै तपाईँले स्क्यान गर्नुभएको क्युआर कोड जनचेतनाका लागि हो भनेर जनचेतनामूलक सन्देश राखिएको छ ।
‘तपाईंले स्क्यान गर्नुभएको क्यु आर कोड सचेतना अभियानको लागि हो’, प्रहरीले लेखेको छ, ‘आज हामीले मजाक गरेका थियौं……तर भोलि यस्तै क्यु आरबाट तपाईं स्क्याममा पनि पर्न सक्नुहुन्छ,’ सन्देशमा लेखिएको छ ।
प्रहरीले आफूले नचिनेको व्यक्ति वा अज्ञात स्रोतबाट प्राप्त भएको क्यु आर कोड स्क्यान नगर्न र स्क्यान गर्नुअघि भेरिफाइ गर्न अनुरोध गरेको छ । आफूसँगै आफ्नो परिवारका सदस्यलाई पनि यस बारेमा जानकारी दिन प्रहरीले अनुरोध गरेको छ ।
यस्तो छ प्रहरीले सामाजिक सञ्जालमा राखेको क्यु आर कोड र सो कोड स्क्यान गर्दा आउने सन्देश ।




