विराटचोकः आज र भोलि देशका विभिन्न भागमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभावका साथै पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको असर देखिएको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो कोशी र मधेश प्रदेशलगायत देशका पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्नेछ भने तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भूभागका केही स्थानहरू तथा बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ तथा हावाहुरी र असिना सहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाको पूर्वानुमान छ ।
राति हिमाली क्षेत्रमा सामान्य बदली, पहाडी क्षेत्रमा आंशिक बदली र तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने जनाइएको छ ।
भोलि देशभर आंशिकदेखि सामान्य बदली रहनुका साथै कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूर पश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।



