विराटचोकः आज चैत्र शुक्ल त्रयोदशीको दिन महावीर जयन्ती मनाइँदै छ । विश्वभरका जैन धर्मका दिगम्बर तथा श्वेताम्बर दुवै सम्प्रदायले हर्षोल्लासपूर्वक आजको दिनलाई महावीर जन्मकल्याणकका नामले मनाउँछन् ।
करिब २ हजार ६ सय वर्षअघि वैशाली गणतन्त्र (हाल भारत विहारको मुजफ्फरपुर जिल्लाको बसाढ गाउँ) को क्षत्रीय कुण्डलपुरमा बाबु सिद्धार्थ तथा आमा त्रिशलाका तेस्रो सन्तानका रूपमा वर्धमानको जन्म भएको थियो । उनै वर्धमान पछि महावीर स्वामी बनेका थिए ।
महावीर स्वामी जैन धर्मका प्रवर्तक हुन् । उनी अहिंसाका प्रतीक थिए । उनको जीवन त्याग एवं तपस्याले ओतप्रोत थियो । जुन युगमा हिंसा, पशुबली, जातपातको भेदभाव थियो त्यसै युगमा जन्मिएका महावीरले संसारलाई सत्य एवं अहिंसाको पाठ पढाएका थिए ।
महावीरले आफ्ना अनुयायीहरूका लागि मोक्षका पाँच मार्ग अहिंसा, सत्य, अचौर्य, ब्रह्मचारी र अपरिग्रहका सिद्धान्तहरू परिपालन गर्न सिकाएका थिए ।
नेपालमा वैदिक, बौद्ध, जैन, शिखलगायतका समुदायबाट प्रत्येक वर्ष उत्साहपूर्वक महावीर जयन्ती मनाउने गरिएको छ । उनीहरुले महावीरलाई भगवानको रूपमा पुज्ने गर्दछन् ।



