काठमाडौंः नवनिर्वाचित प्रतिनिधि सभा सदस्यहरूको पद तथा गोपनीयताको शपथ आज चैत १२ गते हुँदैछ । सो शपथग्रहण समारोहमा केही सांसदले मातृभाषामा शपथ लिने भएका छन् ।
नेपालको संविधानले बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक विशेषतालाई राज्यको गौरव र पहिचानको रूपमा आत्मसात गरेको छ । सबै भाषा, धर्म र सांस्कृतिक पहिचानलाई समावेश गर्दै समावेशी समाजको निर्माणमा जोड दिएको छ । जसका कारण चलनचल्तीको नेपाली भाषाबाहेक मातृभाषामा पनि शपथ लिन पाइने व्यवस्था नेपालको संविधानले गरेको छ ।
सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित दीपककुमार साह मैथिली भाषामा (रास्वपा)
बाँके क्षेत्र नम्बर २ बाट निर्वाचित मोहम्मद इश्तियाक राई अवधि भाषामा (नेकपा एमाले)
समानुपातिक सांसद खुश्बु ओलीले संस्कृत भाषामा (राप्रपा)
महोत्तरी ३ बाट निर्वाचित उज्ज्वलकुमार झाले मैथिली भाषामा
धनुषा– १ बाट निर्वाचित मातृकाप्रसाद यादवले मैथिली भाषामा (नेकपा)
समानुपातिक सांसद कृपाराम रानाले राना थारू भाषामा (एमाले)
समानुपातिक सांसद गीता चौधरीले थारु भाषामा (रास्वपा)
समानुपातिक सांसद प्रमिलाकुमारी गच्छदारले थारू भाषामा (कांग्रेस)
काठमाडौं ८ बाट निर्वाचित विराजभक्त श्रेष्ठले नेपाल भाषामा (रास्वपा)
समानुपातिक सांसद कुलभक्त शाक्यले नेपाल भाषामा (एमाले)
शपथ सम्बन्धी ऐन २०७९ मा शपथको भाषासम्बन्धी व्यवस्था छ । जसले सांसदहरूलाई मातृ भाषामा शपथ लिने बाटो खुला गरिदिएको छ ।
मातृभाषामा शपथ लिने भएमा अनुसूचीमा उल्लेखित शपथको व्यहोरा आफ्नो मातृभाषामा अनुवाद गरी त्यस्तो अनुवाद आफैँले प्रमाणित गरी शपथ गराउने पदाधिकारी समक्ष शपथ लिनु अगावै पेश गर्नु पर्ने ऐनको दफा ५ (२) मा उल्लेख छ ।
सार्वजनिक पदधारण गरेको व्यक्तिले नेपाली भाषामा शपथ लिएकोमा सो शपथको दुई प्रति र मातृभाषामा शपथ लिएकोमा सो मातृभाषाको शपथको समेत दुई प्रतिमा हस्ताक्षर गरी शपथ गराउने पदाधिकारीलाई पेश गर्नुपर्ने व्यवस्था छ ।





