विराटचोकः आज विश्व क्षयरोग दिवस । हरेक वर्षको मार्च २४ मा अन्तर्राष्ट्रिय क्षयरोग दिवस मनाइन्छ ।
क्षयरोग प्राचीन कालदेखि नै मानव समुदायमा रहेको र विभिन्न रोग र सङ्क्रमणका रूपमा यसलाई लिने गरिएको पाइएको छ । क्षयरोग र रेबिज मात्र यस्ता रोग हुन जसको उपस्थिति प्राचीन समयदेखि आजसम्म भएको पाइन्छ ।
अध्ययनअनुसार विश्व जनसङ्ख्याको एक तिहाइमा क्षयरोगको कीटाणुको सङ्क्रमण जोखिममा रहेको देखिन्छ । विकासोन्मुख देशहरूमा यो जोखिम दर बढेर ९० प्रतिशत सम्म रहेको बताइन्छ ।
प्रतिवर्ष विश्वमा ८० लाख नयाँ क्षयरोगी थपिन्छन् भने २० लाखको क्षयरोगकै कारणले मृत्यु हुने गर्दछ ।
नेपालका क्षयरोगीमध्ये ७५ प्रतिशतमा फोक्सोको क्षयरोग पाइन्छ । त्यसपछि अन्य ग्रन्थि, पाठेघर, पेट, कलेजो, मिर्गौला, मस्तिष्क र हड्डी आदिका क्षयरोगी पाइन्छन् । सरकारले क्षयरोगको उपचार निःशुल्क गर्दछ । सन् २०३५ सम्म क्षयरोग निर्मूल पारी क्षयरोगले हुने मृत्युमा ९५ प्रतिशतले कमी ल्याउने योजना सरकारले राखेको छ ।
३ हप्ता या बढी खोकी लागेमा, खकारमा रगत देखिएमा, सास फेर्न गाह्रो या छाती भारी भइरहेमा, अकस्मात् धेरै तौल घटेमा, पसिना आउने धेरै भएर थकान बढी महसुस भएमा क्षयरोग लागेको हुन सक्छ । क्षयरोग सर्न पनि सक्दछ भने शारीरिक अवस्था कमजोर भई रोग प्रतिरोधात्मक क्षमता कम भएकाहरूमा सङ्क्रमणको जोखिम बढी हुन्छ ।
स्वास्थ्यकर्मीका अनुसार ५ वर्ष भन्दा कम उमेरका बच्चा, भर्खरै क्षयरोग देखिएका व्यक्ति, कमजोर रोग प्रतिरोध क्षमता भएका व्यक्ति, चुरोट रक्सी या लागूऔषध सेवन गर्नेहरूमा र क्षयरोगको औषधीको डोज पूर्ण सेवन नगरेकाहरूमा सङ्क्रमण दोहोरिन सक्छ ।





