विराटचोकः मार्च २२ तारिखका दिन विश्वभर विभिन्न जनचेतनामूलक कार्यक्रम गर्दै विश्व जल दिवस मनाइन्छ ।
सन् १९९३ देखि यो दिवस मनाउन शुरु भएको हो । विश्वका सबै महादेश अनि देशहरूमा सुरक्षित र स्वच्छ पिउने पानीको उपलब्धता गराउने उद्देश्यका साथ यस दिवसको रूपरेखा तयार पारिएको हो ।
सन् १९९२ मा ब्राजिलको रियो द जेनेरियोमा भएको संयुक्त पर्यावरण र विकासको संयुक्त राष्ट्र सङ्घको भेलाले यस दिवसको घोषणा गरेको हो । सन् १९९२ मा एजेन्डा २१ मा समाहित गरिएको जल दिवसको रूपरेखालाई आत्मसात गर्दै सन् १९९३ मा प्रथम विश्व जल दिवस मनाइएको थियो ।
पानी र इन्धनको अन्तरसम्बन्ध छ । पानीघट्टदेखि ठूलाठूला जलविद्युतसम्म पानीको शक्तिले चलायमान छन् । शुद्ध पिउने पानीको समान वितरण संसारको लागि ठुलो चुनौती बनेको छ ।





