Saturday, March 21, 2026
Homeसमाचारआज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस

आज गिरिजाप्रसाद कोइरालाको स्मृति दिवस

विराटचोकः पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको १६ औँ स्मृति दिवस आज विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।

कोइरालाको ७ चैत २०६६ मा निमोनियाका कारण निधन भएको थियो । नेपालमा माओवादी जनयुद्ध अन्त्य गरी शान्ति स्थापनाका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । १८ असोज २०५९ मा तत्कालीन राजा ज्ञानेन्द्रले जननिर्वाचित प्रधानमन्त्री शेरबहादुर देउवालाई अपदस्त गरी आफू अनुकूलका प्रधानमन्त्री नियुक्त गर्न थालेपछि राजतन्त्रप्रति जनताको मोहभंग हुन थालेको थियो । यसपछि भएका आन्दोलनको नेतृत्व गिरिजाप्रसादले गरेका थिए ।

१९ माघ २०६१ मा दलमाथि प्रतिबन्ध लगाउँदै तत्कालीन राजा ज्ञानेन्द्र आफैँ मन्त्रिपरिषद्को अध्यक्ष बनेपछि कोइरालाले सबै दललाई एकीकृत गर्दै आफ्नै नेतृत्वमा पूर्ण लोकतन्त्रको स्थापनाका लागि आन्दोलन गरेका थिए ।

कोइरालाकै नेतृत्वमा ११ वैशाख २०६३ मा राजा ज्ञानेन्द्र आन्दोलनरत सात दलको मार्गचित्रअनुरूप विघटित प्रतिनिधिसभा पुनस्र्थापना गर्न सहमत भएका थिए । जसलाई नेपाली ‘म्याग्नाकार्टा’ पनि भनिन्छ । आन्दोलन सफल भएपछि उनी चौथोपटक प्रधानमन्त्री बनेका थिए । पुनस्र्थापित प्रतिनिधिसभाले ४ जेठ २०६३ मा राजाको सबै अधिकार कटौती गर्दै आलङ्कारिक राजाका रूपमा सीमित गरेको थियो ।

कोइरालाकै नेतृत्वमा माओवादी जनसेनाको समायोजनसहित हतियार व्यवस्थापन भएको थियो । उनकै नेतृत्वमा ६ दशकभन्दा लामो संविधानसभा निर्वाचन गर्ने कांग्रेसका संस्थापक एवं उनका दाजु बीपी कोइरालाको सपना २८ चैत २०६४ मा पूरा भएको थियो । पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि नेपालको इतिहासमा यो ऐतिहासिक घटना बनेको छ । पहिलो संविधानसभा निर्वाचनसँगै सशस्त्र द्वन्द्वरत नेकपा माओवादी संसदीय बहुदलीय राजनीतिक प्रतिस्पर्धामा सहभागी भएको थियो ।

चारपटक प्रधानन्त्री बनेका कोइरालाले अन्तिम कार्यकालमा भने कार्यवाहक राष्ट्राध्यक्षको कार्यभारसमेत सम्हालेका थिए । राजा ज्ञानेन्द्र निलम्वनमा परेसँगै कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको भूमिका निर्वाह गरेका थिए । उनकै नेतृत्वमा १५ जेठ २०६५ मा नेपालबाट २४० वर्षको इतिहास बोकेको शाह वंशीय राजसंस्थाको अन्त्य भई नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रका रूपमा स्थापित भएको थियो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments