विराटचोकः आज विश्वभर अन्तर्राष्ट्रिय खुशी दिवस मनाइँदैछ । विज्ञहरूले खुशी रहनका लागि विभिन्न पाँच उपाय सुझाएका छन् । ती उपाय यस्ता छन् ।
क) धन्यवाद अर्थात् कृतज्ञता व्यक्त गर्न सिक्नुहोस्
अधिकांश मानिस अरुलाई गाली गर्न व्यस्त हुन्छन् । तर कम्तीमा कसैलाई धन्यवाद दिनु वा कसैप्रति कृतज्ञता व्यक्त गर्न सक्नु सबैभन्दा ठुलो खुशी हो । हरेक दिन साँझ कसैप्रति कृतज्ञता व्यक्त गर्नुपर्ने सूची बनाएर हेर्न सकियो भने रिस र आक्रोश कम हुँदै खुशी मिल्न थाल्छ ।
ख) मस्त र राम्ररी सुत्नुहोस्
जीवनमा दौडधुप भएकाले तपाईं मध्यरातसम्मै काममा व्यस्त हुनुहुन्छ । त्यसले तपाईंको पेट र जिन्दगीलाई सहज भए पनि खुशी प्राप्त हुँदैन । दैनिक ६ घण्टा मस्त वा राम्ररी सुत्ने अभ्यास गर्नुहोस् । यो अभ्यासलाई निरन्तरता दिनुभयो भने खुशी पक्कै मिल्छ । राम्ररी सुत्न सकेमात्र मनमा निराशाका सन्देश आफैँ हटेर जाने अनुसन्धानको निष्कर्ष छ ।
ग) ध्यान गर्नुहोस्
तपाईंका लागि हरेक दिन २४ घण्टा उपलब्ध छ । यो समय सबैका लागि बराबर हुन्छ । यो समयबाट मात्र १० मिनेट ध्यानका लागि छुट्याउनुहोस् । एकाग्रतामा बसेर ध्यान गर्नुहोस् । यसले खुशी बनाउन सहयोग गर्छ । निरन्तरको अभ्यासले तपाईंलाई अवश्य खुशी मिल्नेछ ।
घ) परिवार र साथीलाई धेरै समय दिनुहोस्
परिवार र साथीलाई धेरै समय दिने मानिस खुशी हुने अध्ययनले देखाएको छ । परिवारलाई समय दिन सक्नु मानिसको खुशी हो । त्यसैगरी साथीसँग समय बिताउनेहरूसमेत खुशी हुन्छन् । मन पर्ने मान्छेसँग हुने संवादले मानिसको सम्बन्ध जीवन्त मात्र बनाउँदै मनोवैज्ञानिक रुपमा उसमा खुशीका हर्मोन उत्पादन भइरहेका हुन्छन् । यसले जीवनलाई स्वस्थ बनाउन सहयोग गर्छ । खुशी सम्पत्तिमा भन्दा सम्बन्धमा हुन्छ ।
ङ) सामाजिक सञ्चालको प्रयोग कम गर्नुहोस्
संसारमा सेकेण्डकै भरमा सूचना फैलिन्छ । त्यसका लागि सामाजिक सञ्जालको प्रयोग अत्याधिक भइराखेको छ । तत्काल हेर्दा मानिस यसमा रमाएको देखिन्छ । तर यसले वास्तविक खुशी दिन सक्दैन । खुशी बन्नुहुन्छ भने सामाजिक सञ्जाल र फोनलाई परै राखेर सक्रिय जीवन बिताउने सूत्र बनाउनुपर्छ ।





