बिर्तामोडः झापाली साहित्य समाजको आयोजना तथा विराट पोखरी सरोवर बहुउद्देश्यीय विकास समितिको सह आयोजनामा शुक्रबार र शनिबार झापाका विभिन्न स्थानमा शब्दयात्रा कार्यक्रम हुने भएको छ ।
कोसी साहित्य कला परिषद् नेपालको संयोजनमा हुने कार्यक्रमको मिडिया पार्टनरमा नेपाली साहित्य र साहित्य पोष्ट डट कम रहेका छन् ।
शुक्रबार विराट पोखरी परिसर, बिर्तामोड –३ मा दिउँसो १ बजेदेखि साढे ४ बजेसम्म साहित्यिक कार्यक्रम हुने परिषद्का अध्यक्ष केशु विरहीले बताउनुभयो । उहाँका अनुसार शुक्रबार साँझ परिषद्का सल्लाहकार केशव आचार्यको निवासमा साहित्यिक सत्संग हुनेछ ।
विरहीका अनुसार शनिबार बिहान साढे ६ बजेदेखि साढे सात बजेसम्म लेखनाथ पुस्तकालय चन्द्रगढीमा साहित्यिक कार्यक्रम हुनेछ ।
सोही दिन साढे ७ बजेदेखि ८ बजेसम्म भाषाविद् चूडामणि रेग्मीसँगको भेटघाट तथा आशीर्वाद ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै, बिहान साढे ८ बजेदेखि साढे ९ बजेसम्म त्रिफला राष्ट्रिय पुस्तकालय धुलाबारीमा साहित्यिक कार्यक्रम हुने भएको छ ।
सुसेली साहित्यिक परिवारको आयोजनामा काँकरभिट्टामा ११ बजेदेखि १२ बजेसम्म साहित्यिक कार्यक्रम हुने भएको छ ।
१ बजेदेखि साढे १ बजेसम्म बिर्तामोड केन्द्रित संस्था तथा स्रष्टासँगको छोटो भेटघाट हुने भएको छ । साहित्य चौतारीको सङ्गीत सभाहल, हिकोला हेरिटेज भवन, बिर्तामोडमा सो कार्यक्रम हुने आयोजकले जनाएको छ ।
साहित्य कला सङ्गम दमक तथा प्रतिभा निकेतन, दमकको आयोजनामा दिउँसो २ बजेदेखि ३ बजेसम्म कार्यक्रम हुने भएको छ ।
अन्तिम साहित्यिक कार्यक्रम ताराबारी मोरङमा साढे ३ बजेदेखि साढे ४ बजेसम्म हुने जनाइएको छ ।





