खाँदबारीः संखुवासभाको मकालु गाउँपालिका–१ की २८ वर्षीया सरु राईको सुत्केरीपछि अधिक रक्तस्राव भएपछि नेपाली सेनाको हेलिकप्टरमार्फत् उद्धार गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी सिर्जना थपलियाका अनुसार राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको समन्वयमा राईको उद्धार गरिएको हो ।
राईले आज बिहान ८ बजे जिल्ला अस्पताल संखुवासभामा शल्यक्रियामार्फत् शिशुको जन्म दिएकी थिइन् । त्यसपछि अधिक रक्तस्राव भएर स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि हेलिकप्टरमार्फत् उद्धार गरी काठमाडौंको थापाथलीस्थित प्रसूति गृहमा पठाइएको जिल्ला अस्पताल संखुवासभाले जनाएको छ ।





