विराटचोकः अमेरिका र इजरायलले इरानसँग गरेको युद्धका कारण एसियाली देशहरुमा इन्धनको सङ्कट बढ्न थालेपछि केही देशले इन्धन बचतका लागि नयाँनयाँ नियम लागू गरेका छन् ।
श्रीलङ्का, म्यानमार, थाइल्याण्ड, बङ्गलादेश र भियतनाममा नयाँनयाँ नियम लागू भएका हुन् ।
श्रीलङ्काले बुधबार सार्वजनिक बिदा थप्ने घोषणा गरेको छ । राष्ट्रपति अनुर कुमार दिसानायकेले सोमबार उच्च अधिकारीहरूसँगको आपतकालीन बैठकमा आगामी दिनमा अझै खराब अवस्था आउन सक्ने भन्दै त्यसको तयारीका लागि हरेक बुधबार सार्वजनिक बिदा थप्ने निर्णय गरेका हुन् ।
थाइल्याण्डमा पनि सरकारले एयर कन्डिसनको प्रयोग घटाउन तथा कोट सुटको साटो छोटो बाहुला भएको टिसर्ट लगाउन अनुरोध गरेको छ ।
म्यानमारमा इन्धनको प्रयोग घटाउन सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ ।
बंगलादेशले विश्वविद्यालयमा रमजान बिदा अगाडि सारेको छ भने देशभर उर्जा बचत गर्न योजनाबद्ध विद्युत कटौती लागू गरेको छ ।
भियतनामले इन्धन बचत गर्न नागरिकलाई घरमै बस्न र साइकल चलाउन वा सार्वजनिक यातायात प्रयोग गर्न अनुरोध गरेको छ ।
युद्धका कारण खाडी क्षेत्रबाट एशियातर्फ जाने लाखौं ब्यारेल तेल ढुवानी हुने स्ट्रेट अफ हर्मुज अवरुद्ध भएको छ । जसका कारण विश्वभर पेट्रोलियम पदार्थको आपूर्ति प्रभावित भइरहेको छ भने विश्व बजारमा मूल्य पनि वृद्धि भएको छ ।





