विराटचोकः यो साता नेप्से परिसूचक करिब ४ प्रतिशत बढेको छ । गत साता २७१२.४९ विन्दुमा बन्द भएको नेप्से यो साता ३.९८ प्रतिशत अर्थात् २८२०.४४ अङ्क बढेर २८२०.४४ बिन्दुमा बन्द भएको छ ।
४ कारोबार दिनका लागि खुलेको बजारमा २ कारोबार दिन नेप्से बढेको थियो भने २ कारोबार दिन घटेको थियो । नेप्से बढेसँगै यस साता कारोबार रकम पनि बढेको छ । गत साता दैनिक औसतमा ५ अर्ब ९४ करोड रुपैयाँको शेयर खरिदबिक्री भएको बजारमा यो साता दैनिक औसतमा १२ अर्ब ४४ करोड रुपैयाँको शेयर किनबेच भएको छ ।
१३ वटै उपसमूहको परिसूचक बढेको छ । बैंकिङ्ग उपसमूहको परिसूचक सर्वाधिक ५.७३ प्रतिशत बढेको छ । अन्य उपसमूहको परिसूचक सबैभन्दा कम १.३९ प्रतिशत बढेको छ ।
यो साता ८ कम्पनीको १३ करोड २३ लाख ४८ हजार ३९० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको छ । होटल फरेष्ट इन र सोलु हाइड्रोपावरको आईपीओ तथा सर्वोत्तम सिमेन्ट, सिक्लेस हाइड्रोपावर, छिमेक लघुवित्त वित्तीय संस्था, स्वाबलम्बन लघुवित्त वित्तीय संस्था, स्वरोजगार लघुवित्त वित्तीय संस्था र सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।
साताभरमा सालपा विकास बैंकको शेयरमूल्य सर्वाधिक ३४.१५ प्रतिशत बढेको छ । रिलायन्स स्पिनिङ मिल्सको शेयरमूल्य करिब साढे ३० प्रतिशत बढेको छ । नेशनल हाइड्रोपावर कम्पनीको शेयरमूल्य २८ प्रतिशतभन्दा बढी बढेको छ ।
बजार बढे पनि साताभरमा त्रिशुली जलविद्युत कम्पनीको शेयरमूल्य सर्वाधिक ५.६८ प्रतिशत घटेको छ ।
नेप्सेको कुल बजार पूँजीकरण पनि करिब ४ प्रतिशत बढेको छ । गत साताको अन्तिम कारोबार दिन ४५ खर्ब ६३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यो साता १ खर्ब ८१ अर्ब रुपैयाँ बढेर ४७ खर्ब ४४ अर्ब रुपैयाँ पुगेको छ ।





