विराटचोकः आज चुनावअघिको अन्तिम शेयर कारोबार दिन हो । आज नेपाली शेयर बजार ३८ दशमलव ५२ अङ्कले बढेर २७१२.४९ विन्दुमा अडिएको छ ।
नेप्सेमा सूचीकृत ३२९ कम्पनीको १ करोड ५१ लाख ८४ हजार ६०७ कित्ता शेयर ६१ हजार ३२९ पटक किनबेच हुँदा ६ अर्ब २३ करोड ४३ लाख ८१ हजार ४८० रुपैयाँको शेयर कारोबार भएको छ ।
व्यापारबाहेक सबै समूहमा हरियाली छाउँदा जलविद्युत समूह सर्वाधिक २.१३ प्रतिशतले बढेको छ । माइक्रोफाइनान्स समूह १.६६ प्रतिशत, बैंकिङ समूह १.६४ प्रतिशत, होटल तथा पर्यटन समूह १.६० प्रतिशत, विकास बैंक समूह १.५९ प्रतिशत, लगानी समूह १.५२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह १.४९ प्रतिशत, फाइनान्स समूह १.४३ प्रतिशत, निर्जीवन बीमा समूह १.११ प्रतिशत, जीवन बीमा समूह १.०५ प्रतिशत, अन्य समूह १.०३ प्रतिशत र सामुहिक लगानी कोष समूह ०.८२ प्रतिशतले बढेका छन् । व्यापार समूह भने आज ०.८४ प्रतिशतले घटेको छ ।
बढेको बजारमा सालपा विकास बैंकको शेयर १० प्रतिशतले बढेर ७०७.१० रुपैयाँ पुगेको छ । शुभम् पावरको शेयरभाउ २.५३ प्रतिशतले घटेर ७०७.६० रुपैयाँ कायम भएको छ ।
आज आँखुखोला जलविद्युत कम्पनीको सर्वाधिक ३४ करोड ६५ लाख ३० हजार ३७९ रुपैयाँको शेयर किनबेच भएको छ । रिडी हाइड्रोपावर, एसवाई प्यानल नेपाल, मञ्जुश्री फाइनान्स र ङादी ग्रुप पावर उच्च कारोबार गर्ने अन्य कम्पनीमा परेका छन् ।
बजार बढेसँगै समग्र बजार पूँजीकरण ४५ खर्ब ६३ अर्ब १३ करोड ६ लाख ५८ हजार ४२७ रुपैयाँ कायम भएको छ ।
अब भोलिदेखि निर्वाचनको बिदा हुने र फागुन २४ गते आइतबार नारी दिवसको सार्वजनिक बिदा हुने भएकाले शेयर बजार अब फागुन २५ गते सोमबार मात्रै खुल्नेछ ।



