विराटनगरः फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि उम्मेद्वारी दिएका १५ जना उम्मेद्वारले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने लिखित प्रतिबद्धता जनाएका छन् ।
विराटनगरमा आज भ्रष्टाचारविरुद्धको नागरिक निगरानी संस्था मोरङले आयोजना गरेको पत्रकार सम्मेलनमा १५ जना उम्मेदवारहरूले गरेको प्रतिबद्धतासहितको हस्ताक्षर सार्वजनिक गरिएको हो ।
संस्थाले जिल्लाका विभिन्न निर्वाचन क्षेत्रका उम्मेदवारहरूलाई प्रत्यक्ष भेटेर सुशासन कायम गर्ने र भ्रष्टाचारमुक्त समाज निर्माणका लागि प्रतिबद्धता गराएको थियो । हस्ताक्षर गर्ने उम्मेद्वारहरूले ‘नेपालको संविधानको पूर्ण पालना गर्दै म भ्रष्टाचारको अन्त्य र सुशासनका लागि प्रतिबद्धता जनाउँछु, म भ्रष्टाचार गर्दिनँ र गर्न पनि दिन्नँ ’ भन्ने व्यहोरामा सहमति जनाएका छन् ।
निगरानी संस्थाका अध्यक्ष एवं वरिष्ठ पत्रकार मोहन भण्डारीका अनुसार उम्मेदवारहरूलाई निर्वाचनपछि पनि आफ्नो वाचाप्रति जिम्मेवार बनाउन यो अभियान शुरु गरिएको हो ।







