विराटचोकः मोरङमा निर्वाचन तयारी पूरा भएको निर्वाचन कार्यालयले जनाएको छ । मोरङमा ३०६ मतदान स्थलका लागि ८८८ वटा मतदान केन्द्र तोकिएका छन् । दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् ।
नेपाल पत्रकार महासंघ मोरङले आयोजना गरेको निर्वाचन र आमसञ्चार विषयक अन्तरक्रिया कार्यक्रममा निर्वाचन तयारीबारे सुरक्षा प्रमुखहरु र निर्वाचन कार्यालयका प्रमुखले निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको बताउँदै मतगणना स्थलबारे जानकारी दिएका हुन् ।
जिल्लाका ३०६ मतदान स्थलका ८८८ मतदान केन्द्रमा निर्वाचनका लागि कर्मचारीहरु खटिएको प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चोलाराज दंगालले जानकारी दिनुभयो । निर्वाचनका लागि मतदान अधिकृत, सहायक मतदान अधिकृतका लागि तालिम सम्पन्न भइसकेको छ । निर्वाचनमा खटिने ५ हजार ३४६ कर्मचारीले नियुक्तिपत्र लिइसकेका छन् ।
जिल्ला कारागार मोरङ र आदर्श पुस्तकालयमा रहने अस्थायी मतदान केन्द्रका लागि छुट्टै कर्मचारीको प्रवन्ध गरिएको प्रदेश निर्वाचन अधिकारी दंगालले बताउनुभयो । मतदान सम्पन्न भएलगत्तै मतगणना गर्ने स्थानमा तारजाली घेर्ने तथा सिसि टिभी राखेर मतगणना गरिने गरी तयारी गरिएको बताइएको छ ।







