Monday, March 2, 2026
Homeसमाचारआज राति १२ बजेदेखि मौन अवधि शुरु हुने, चुनावको प्रचारप्रसार गर्न नपाइने

आज राति १२ बजेदेखि मौन अवधि शुरु हुने, चुनावको प्रचारप्रसार गर्न नपाइने

विराटचोकः यही फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा देशभर भइरहेको चुनावी प्रचारप्रसार आज राति १२ बजेदेखि गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचनको मौन अवधि मतदानको ४८ घण्टा अघिदेखि लागू हुने गर्दछ । मौन अवधि मतदान केन्द्र बन्द नहुन्जेलसम्म कायम रहनेछ । साँझ ५ बजेसम्म मतदानका लागि लाइनमा बसेका मतदाताको मतदान प्रक्रिया पूरा नभएसम्म यो अवधि जारी रहने कानुनी व्यवस्था छ ।

निर्वाचनको अन्तिम घडीसम्म उम्मेदवार र राजनीतिक दलहरूले आफ्नो पक्षमा माहोल बनाउन विभिन्न सभा, अन्तरक्रिया, घरदैलो र सामाजिक सञ्जालमार्फत तीव्र प्रचारप्रसार गर्दै आएका छन् । मध्यरातबाट भने यस्तो सम्पूर्ण गतिविधि पूर्ण रूपमा निषेध हुनेछ । मौन अवधिमा उम्मेद्वार, राजनीतिक दल, तिनका पदाधिकारी तथा भ्रातृ संगठनहरूले कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाउँदैनन् ।

निर्वाचन आयोगले जारी गरेको निर्वाचन आचारसंहिता, २०८२ को बुँदा नम्बर १७ मा मौन अवधिसम्बन्धी स्पष्ट व्यवस्था छ । उक्त आचारसंहिताअनुसार मतदान हुनुभन्दा ४८ घण्टा अघिदेखि कुनै पनि दल वा उम्मेदवारले सभा, सम्मेलन, गोष्ठी, अन्तरक्रिया, कार्यशालाजस्ता कार्यक्रम आयोजना गर्न पाउने छैनन् । उपदफा ‘क’ले राजनीतिक दललाई सबै प्रकारका प्रचारात्मक गतिविधि रोक्न बाध्य बनाएको छ ।

आयोगले मतदानस्थलको तीन सय मिटर वरपर राखिएका उम्मेद्वारका पोस्टर, ब्यानर, झण्डा लगायतका प्रचार सामग्री हटाउन पनि निर्देशन दिएको छ । मौन अवधिमा प्रचार सामग्री राखिएको पाइएमा कारबाही गरिने आयोगले जनाएको छ ।

सामाजिक सञ्जाल, अनलाइन पोर्टल, छापा माध्यम वा अन्य कुनै माध्यमबाट उम्मेद्वार वा दलको पक्ष–विपक्षमा सामग्री पोस्ट, शेयर वा प्रतिक्रिया जनाउन नपाइने व्यवस्था आचारसंहितामा उल्लेख छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रयोग गरेर बनाइने सामग्रीसमेत निषेध गरिएको छ ।

मौन अवधिलाई संवेदनशील समयका रूपमा लिँदै आयोगले सबै जिल्लाका अनुगमन समितिलाई विशेष निर्देशन दिएको छ । प्रचार बन्द भएपछि उम्मेदवारहरूले आर्थिक चलखेल, भोजभतेर, घरदैलोमार्फत् गोप्य रूपमा मतदातालाई प्रभावित पार्ने प्रयास गर्न सक्ने आँकलन गर्दै सुरक्षा निकायलाई पनि चनाखो रहन भनिएको छ । प्रहरी र प्रशासनले सम्भावित अवाञ्छित गतिविधि रोक्न विशेष निगरानी बढाउने तयारी गरेका छन् ।

निर्वाचन कसुर तथा सजाय ऐन, २०७३ को दफा २३ अनुसार मौन अवधि उल्लङ्घन गरेमा एक लाख रुपैयाँसम्म जरिवाना तथा उम्मेद्वारी रद्दसम्म हुन सक्ने व्यवस्था छ । सोही ऐनको दफा २४ को उपदफा (५) मा मतदान हुने दिनभन्दा ४८ घण्टा अघिदेखि मतगणना सम्पन्न नभएसम्म कुनै पनि दल वा उम्मेद्वारको पक्ष वा विपक्षमा सभा, जुलुस, नाराबाजी वा प्रचारप्रसार गर्न नहुने स्पष्ट कानुनी प्रावधान छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments