विराटनगरः मोरङको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ६ मा उज्यालो नेपाल पार्टीका तर्फबाट उम्मेद्वारी दिएका उम्मेदवार वसन्त बुढाथोकीले आफ्नो उम्मेद्वारी निष्क्रिय पार्दै नेकपा एमालेका उम्मेद्वार विनोद ढकाललाई समर्थन गर्ने घोषणा गरेका छन् । २५ वर्षीय बुढाथोकी सो क्षेत्रका सबैभन्दा कान्छा उम्मेद्वार थिए ।
आइतबार बुढीगंगास्थित गोकुवामा आयोजित कार्यक्रममार्फत् औपचारिक रूपमा उम्मेद्वारी निष्क्रिय पारिएको घोषणा गर्दै उनी एमाले प्रवेश गरेका छन् । कार्यक्रममा एमाले उम्मेद्वार विनोद ढकालसहित, नेता लालबाबु पण्डित र पर्शुराम बस्नेतलगायतले बुढाथोकीलाई पार्टीमा स्वागत गरेका छन् । बुढाथोकीले आफू अब उम्मेदवारका रूपमा क्रियाशील नरहने स्पष्ट पार्दै आफूलाई साथ र समर्थन गर्ने सम्पूर्ण मतदातालाई एमालेका उम्मेद्वार ढकाललाई सहयोग गर्न आग्रह गरे ।
बुढाथोकीलाई आम मतदाताले जेनजी उम्मेद्वारका रूपमा चिन्दै आएका थिए । बुढाथोकीले आफू जनताको समस्या समाधानका लागि राजनीतिमा सक्रिय हुने पनि बताए । उनले मनोनयन दर्तादेखि आफ्नो चुनावी अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन् ।
सामाजिक सञ्जाल र प्रविधिको प्रयोगमार्फत मतदातामाझ पुगिरहेका बुढाथोकीले युवाको सहभागिता र प्रणालीगत सुधारलाई आफ्नो मुख्य एजेन्डा बनाएका थिए ।
बेरोजगारी अन्त्य र विकासको स्पष्ट खाका एमालेबाहेक अरुसँग नदेखिएको र नयाँको नाममा आएको लहरले देशलाई स्थायित्व दिन नसक्ने महसुस गरी एमालेमा प्रवेश गरेको बुढाथोकीको भनाइ छ ।
बुढाथोकीको उम्मेद्वारी निष्क्रिय पार्ने निर्णयलाई कतिपयले रणनीतिक सहकार्यका रूपमा हेरेका छन् भने कतिपयले यसलाई नयाँ शक्तिको राजनीतिक परीक्षणको प्रारम्भिक परिणामका रूपमा व्याख्या गरेका छन् ।
मोरङ क्षेत्र नम्बर ६ मा १ लाख ३७ हजार ८ सय ३२ मतदाता छन् ।







