दमकः नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्रमा समाचार सङ्कलनका लागि आज दिउँसो पुगेका पत्रकार अर्जुन आचार्यमाथि नेकपा एमालेको भोलेन्टियर फोर्सका सदस्यले आक्रमण गरेका छन् ।
आचार्यसँगै रहेका पत्रकार अमृत चिमरियाका अनुसार चुनावी प्रचारको भिडियो खिच्ने क्रममा झापाको कमल गाउँपालिकास्थित जीवन चोकमा २५६१ नम्बरको स्कर्पियोमा आएका फोर्सका सदस्यहरूले आचार्यमाथि कुटपिट गरेका थिए ।
प्रत्यक्षदर्शीका अनुसार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको घरदैलो कार्यक्रम भइरहँदा स्थानीय महिलाहरूले राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह ‘घण्टी’ देखाएर साङ्केतिक विरोध जनाएका थिए । त्यसपछि आक्रोशित बनेका एमाले कार्यकर्ताहरूले ती महिलाहरूमाथि अश्लील शब्द बोल्दै दुव्र्यवहार गर्न थालेपछि पत्रकार आचार्यले सो दृश्यको फोटो र भिडियो खिच्न खोजेका थिए ।
एमालेका कार्यकर्ताहरूले आचार्यको मोबाइल खोसेर लगेका छन् भने उनको चस्मा समेत फुटाइदिएका छन् । आक्रमणबाट आचार्यको आँखा, गाला र ढाडमा चोट लागेको छ । घटनास्थलमा रहेका अन्य पत्रकारहरूले उनलाई उद्धार गरी सुरक्षित स्थानतर्फ लगेका थिए ।
हाम्रो मत तथा रातो पाटी अनलाइनमा आबद्ध आचार्यसहितको रातो पाटी अनलाइनको टिमले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको अन्तर्वार्ता लिनका लागि घरदैलो कार्यक्रम पछ्याइरहँदा सो घटना भएको थियो ।
आचार्यमाथि भएको घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ मोरङलगायतले विज्ञप्ति निकालेका छन् ।
आचार्यको विराटनगरस्थित न्युरो अस्पतालमा उपचार भइरहेको छ । उनको अनुहार सुन्निएको छ भने ढाड र पाखुरामा निलडाम छ । टाउकोमा टुटुल्को उठेको छ ।
आचार्यको प्रेसर बढेको र कमजोरी देखिएको भन्दै अस्पतालले थप परीक्षण भइरहेको जनाएको छ । घटनापछि एमालेका कार्यकर्ताहरूले फोन गरेर मोबाइल र चस्मा फिर्ता लिन बोलाएका थिए ।







