विराटनगरः १३ दिन अघि घरदैलोका क्रममा मोरङको सुन्दरहरैंचा–७ गोठगाउँमा रहेकै समयमा बुबाको निधनको खबर सुनेर घर फर्किनुभएका मोरङ क्षेत्र नम्बर ६ का नेकपा एमालेका उम्मेद्वार विनोद ढकाल हिजोदेखि चुनावी प्रचारमा लाग्नुभएको छ । बुबाको १३ दिने काजकिरिया सकेर हिन्दू परम्पराअनुसार सेतै वस्त्रमा मतदातामाझ उपस्थित भएका ढकालले विकासको एजेन्डासहित आफ्नो अभियानलाई तीव्र बनाउनुभएको हो ।
माघ २९ गते १०१ वर्षीय बुवा विष्णुप्रसाद ढकालको निधनपछि संस्कार र धार्मिक विधिअनुसार उहाँ कोरामा रहनुभएको थियो । फागुन ३ गते उहाँले क्षेत्रगत विकास, शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधारलाई प्राथमिकतामा राख्दै कोराबाटै ३० बुँदे प्रतिबद्धता सार्वजनिक गर्नुभएको थियो ।
हिजो विराटनगर महानगरपालिका वडा नम्बर ४, ५, ६ र ११ का १६ स्थानमा उहाँले कोणसभा गर्नुभएको हो । पुलचोक, आइतबारे, जामुनगाछी, चाँदनी चोक, अरुण चोक, स्वागत चोक, नहर चोक, ब्रह्मपुरा चोक, कन्चनबारी, राजवंशी चोक, ढाट, खार्जी, बस्ता टोल, इक्राही, गिरी चोक, दावाबन्दी, कोचाखाल लगायतका स्थानमा उहाँले कोणसभा, घरदैलो र मतदाता भेटघाट गर्नुभएको हो ।







