Wednesday, February 25, 2026
Homeराजनीतिमोरङ–४ मा कांग्रेसका गुरुराज घिमिरेको ३९ बुँदे प्रतिबद्धतापत्र

मोरङ–४ मा कांग्रेसका गुरुराज घिमिरेको ३९ बुँदे प्रतिबद्धतापत्र

विराटनगरः नेपाली कांग्रेसका महामन्त्री एवं मोरङ क्षेत्र नम्बर ४ का उम्मेद्वार गुरुराज घिमिरेले आफ्नो निर्वाचन क्षेत्रको विकासका लागि ३९ बुँदे सङ्कल्पपत्र सार्वजनिक गर्नुभएको छ ।

सोमबार साँझ विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा उम्मेद्वार घिमिरेले शिक्षा, स्वास्थ्य, कृषि र भौतिक पूर्वाधारलाई मेरुदण्ड मानेर आफ्नो चुनावी एजेण्डा प्रस्तुत गर्नुभएको हो । उहाँका एजेण्डामा विराटनगर–१९ स्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट मैदानको निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । सो क्षेत्रलाई ‘खेलकुद ग्राम’ का रूपमा विकास गर्दै अन्तर्राष्ट्रिय स्तरका प्रतियोगिता आयोजना गर्ने उल्लेख छ ।

विराटनगरका केही वडासहित कटहरी, ग्रामथान र बेलबारीका सामुदायिक विद्यालयहरूमा अङ्ग्रेजी माध्यमको पठनपाठन विस्तार गर्ने, डिजिटल शिक्षण सामग्री र विद्युतीय पुस्तकालयको व्यवस्था गर्दै सरकारी विद्यालयको गुणस्तर निजी सरह पुर्याउने सङ्कल्प गरिएको छ ।

मोरङ–सुनसरी सिँचाइ आयोजनाको खनार–केरौन खण्डमा पर्ने मूल नहरका विभिन्न स्थानमा पक्की पुल निर्माण गर्ने र सिँचाइ सुविधा नपुगेका स्थानमा डिप बोरिङको व्यवस्था गर्ने तथा रासायनिक मल तथा बीउको सहज उपलब्धताका लागि नीतिगत पहल गर्ने उल्लेख गरिएको छ ।

कटहरीस्थित लोहन्द्रा खोलामा पक्की पुल र तटबन्ध निर्माण गरी वर्षेनी हुने डुबानको समस्यालाई स्थायी रूपमा समाधान गर्ने योजना छ । ग्रामथान–५ को सरियाधामी थारु समुदायको सांस्कृतिक केन्द्रलाई सङ्ग्रहालयका रूपमा विकास र बेलबारीको ऐतिहासिक धनपालगढी र कटहरीको बाबा बनस्खण्डी मन्दिर क्षेत्रलाई गुरुयोजनासहित धार्मिक पर्यटकीय गन्तव्य बनाइने प्रतिबद्धतापत्रमा उल्लेख छ ।

बेलबारी–७ बाहुनीस्थित प्राथमिक स्वास्थ्य केन्द्रलाई विशेषज्ञ चिकित्सक र आधुनिक प्रयोगशालासहितको सुविधा सम्पन्न बनाउने अनि सुकुम्बासी तथा भूमिहीनका लागि व्यवस्थित बसोबासको ठोस योजना कार्यान्वयन गर्ने र सामाजिक न्याय सुनिश्चित गर्ने प्रतिबद्धता समेत व्यक्त गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments