गछियाः हिजो सुन्दरहरैंचा नगरपालिका वडा नम्बर २, ३ र ७ मा नेपाली कांग्रेसका नेता एवम् मोरङ क्षेत्र नम्बर ६ का नेपाली कांग्रेसका उम्मेद्वार डा. शेखर कोइरालाले चुनावी प्रचारसभा गर्नुभएको छ ।
सुन्दरहरैंचा नगरपालिकाको वडा नम्बर ७ को ठडिया, कामत टोल र गोठगाउँ तथा वडा नम्बर २ को जोगियारे खोटाङे टोल र वडा नम्बर ३ को गछियामा सभा आयोजना गरिएका थिए । ती सभामा बोल्दै डा. कोइरालाले कांग्रेसले गरेको विकासको प्रचार मतदातासमक्ष हुन नसकेको बताउनुभयो ।
गोठगाउँमा पूर्वाञ्चल विश्वविद्यालयअन्तर्गत सञ्चालित मेडिकल कलेजले सुन्दरहरैंचा नगरपालिका क्षेत्रको मुहार परिवर्तन गर्ने भए पनि नेपाली कांग्रेसको पहलमा भएको सो कामको जस कांग्रेसले लिन नसक्दा अन्य दललाई लाभ पुगेको उहाँको भनाइ थियो ।
‘सुन्दरहरैचावासीको मागअनुसार मैले मेडिकल कलेज ल्याएको हुँ,’ उहाँले भन्नुभयो, ‘अब यसले सुन्दरहरैंचाको मुहार फेर्नेछ ।’ यस वर्ष ५० जना विद्यार्थी एमबीबीएसमा भर्ना भएको र आगामी वर्ष १०० जना पुर्याउने लक्ष्य रहेको उहाँले बताउनुभयो । प्रत्येक वर्ष एमबीबीएस अध्ययन गर्ने विद्यार्थीको सङ्ख्या बढ्दै जाँदा स्थानीय स्तरमै डाक्टर उत्पादन हुनुका साथै विद्यार्थीको बसोबास वृद्धि हुने, घरहरू भाडामा लाग्ने, थप तला निर्माण हुने र त्यसबाट स्थानीयको आम्दानी बढ्ने उहाँको भनाइ थियो ।







