विराटचोकः पश्चिमी वायुको आंशिक प्रभाव नेपालमा रहिरहेको हुनाले आज तराई भू–भागका केही स्थानहरूमा बिहानको समयमा हुस्सु लाग्ने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भाग तथा बाँकी प्रदेशको हिमाली भू–भागमा साधरणतया बादल लाग्ने महाशाखाले जनाएको छ । बाँकी पहाडी भू–भागमा आंशिक बादल लाग्नेछ र तराई भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागका थोरै स्थानहरूमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी र हिमाली भू–भागको एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
राति तराई भू–भागका थोरै स्थानहरूमा तुँवालो रहने पूर्वानुमान छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने विभागको पूर्वानुमान छ ।
कोशी र गण्डकी प्रदेशको उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ ।
आज कर्णाली प्रदेश लगायत देशको उच्च पहाडी र हिमाली भू–भागमा आंशिक बादल लागेको छ र बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ ।
पछिल्लो २४ घन्टामा बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक दुई स्थानमा छिटफुट वर्षा भएको छ ।







