सौंठाः मोरङको रतुवामाईस्थित सौंठा माध्यमिक विद्यालयमा १७ औँ रतुवामाई राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता आइतवार शुरु भएको छ । प्रतियोगिता आज समापन हुँदैछ ।
प्रतियोगिताको रतुवामाई नगरपालिकाका मेयर एवम् प्रतियोगिता उद्घाटन कार्यक्रमका प्रमुख अतिथि नागेश्वरप्रसाद सिंहले उद्घाटन गर्दै आगामी दिनमा नगरपालिकाबाट प्रतियोगिताका लागि थप बजेट विनियोजन गरिने बताउनुभयो । बालबालिकाको खेलप्रतिको लगाव र चौतर्फी विकासका लागि राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता एउटा अवसर भएकाले सोही अनुसार नगरपालिकाले आगामी दिनमा प्रतियोगितालाई अझ व्यवस्थित बनाउने मेयर सिंहकोे भनाइ थियो ।
उपमेयर दमयन्ता चुडालले बालबालिकाले घरपछि सबैभन्दा बढी समय विद्यालयमा बिताउने भएकाले र उनीहरूलाई लागूऔषधको कुलतबाट बचाउन विद्यालयले विशेष निगरानी गर्नुपर्ने बताउनुभयो । पछिल्ला दिनमा विद्यालय समयमा लागूऔषध सेवन गर्ने बालबालिकाको सङ्ख्या बढ्दै गएकाले त्यसतर्फ समेत शिक्षकसहित अभिभावक सचेत हुनुपर्ने उहाँको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, शिक्षाप्रेमी र समाजसेवीलगायतको उपस्थिति थियो ।
प्रतियोगितामा रतुवामाई नगरपालिकाभित्र रहेका निजी तथा सामुदायिक विद्यालयको सहभागिता रहेको छ ।







