विराटचोकः नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा चर्चित फरवार्ड सावित्रा भण्डारी ‘साम्बा’ यतिबेला गम्भीर घुँडाको चोटका कारण मैदानबाहिर छिन् ।
पछिल्ला सात हप्तादेखि उपचार प्रक्रियामा रहेकी उनले सामाजिक सञ्जालमार्फत आफ्नो अवस्थाबारे जानकारी दिँदै उपचारका लागि सहयोगको अपिल गरेकी छिन् ।
यसअघि घुँडाको एसीएलमा गरिएको शल्यक्रियाबाट राखिएको ग्राफ्ट र एमसिएल दुवैमा पुनः गम्भीर चोट लागेको हुनाले चिकित्सकले जटिल शल्यक्रिया गर्नुपर्ने सुझाव दिएका छन् ।
अघिल्लो पटक एन्फाको पहलमा उपचार व्यवस्थापन सहज भएको स्मरण गर्दै उनले यसपटक भने अपेक्षित सहयोग नपाएको भण्डारीको भनाइ छ । भण्डारीका अनुसार क्लबमार्फत् शल्यक्रियाको मिति तय भए पनि पछि प्रक्रिया रोकिएको र एन्फाबाट प्रशासनिक सहयोग सम्भव नभएको जानकारी दिइएको छ ।
एन्फाले नगद ५ लाख रुपैयाँसम्म सहयोग गर्ने भनिए पनि समग्र उपचार व्यवस्थापन आफैंले गर्नुपर्ने अवस्था आएको हुनाले शल्यक्रियाको प्रक्रिया झन्डै दुई महिना पछाडि धकेलिएको भण्डारीको भनाइ छ । उनी न्युजिल्यान्डमा क्लब फुटबल खेलिरहेकी थिइन् । क्लबले स्थानीय अस्पतालमा उपचार गराउन तयार रहेको जनाए पनि उनले अघिल्लो पटक उच्चस्तरीय उपचार भएको कतारस्थित अस्पेटार अस्पतालमै पुनः शल्यक्रिया गराउने इच्छा व्यक्त गरेकी छिन् ।
क्लबको बीमाबाट प्राप्त हुने रकम शल्यक्रिया र ७–८ महिनाको रिह्याबका लागि अपुग हुने देखिएपछि उनले समर्थकमाझ सहयोगको आह्वान गरेकी हुन् । प्रारम्भिक अनुमानअनुसार उपचारका लागि करिब ८० हजार अमेरिकी डलर खर्च हुने बताइएको छ ।







