काठमाडौंः उज्यालो नेपाल पार्टीले एक घर एक हजार कित्ता शेयर उपलब्ध गराउने घोषणापत्र जारी गरेको छ । २१ फागुनमा हुने प्रतिनिधिसभाको चुनावी प्रतिवद्धतापत्रमा पूर्व ऊर्जामन्त्री समेत रहेका कुलमान घिसिङ नेतृत्वको उज्यालो नेपाल पार्टीले यस्तो दाबी गरेको हो ।
‘सम्पूर्ण घरपरिवारलाई प्राथमिक शेयर मूल्यमा कम्तीमा १ हजार कित्ता जलविद्युत आयोजनाको शेयर उपलब्ध गराइनेछ । गरिब परिवारलाई प्राथमिक शेयर किन्न सहुलियत ऋण उपलब्ध गराउनुका साथै योजना निर्माणका क्रममा संलग्न श्रमिकको श्रमलाई शेयरमा पनि रुपान्तरण गर्न सकिने व्यवस्था मिलाइनेछ’ प्रतिवद्धता पत्रमा भनिएको छ ।
विद्युत खरिद सम्झौता भएको ३० वर्षपछि सरकारलाई हस्तान्तरण हुने जलविद्युत आयोजनाको राजस्वबाट प्राप्त २० प्रतिशत रकम जनताको जलविद्युत कोषमा राख्ने व्यवस्था मिलाइने दाबी गरिएको छ ।
निजी क्षेत्रको उल्लेख्य सहभागितामा २०३० सम्ममा १२ हजार मेगावाट विद्युत उत्पादन गर्ने र प्रतिव्यक्ति खपत ८ सय किलोवाट घण्टा पुर्याइने दाबी गरिएको छ ।
विद्युत निर्यातबाट प्राप्त रकमको १५ प्रतिशत राष्ट्रिय समृद्धि कोषमा राख्ने व्यवस्था मिलाइने उल्लेख छ । साथै यसबाट ग्रामीण पूर्वाधार र गरिबी निवारण कार्यक्रम सञ्चालन गरिने प्रतिबद्धता व्यक्त गरिएको छ ।







