Monday, February 16, 2026
Homeराजनीतिआजदेखि १५ दिन चुनाव प्रचार गर्न पाइने, १८ गते रातिदेखि मौन अवधि...

आजदेखि १५ दिन चुनाव प्रचार गर्न पाइने, १८ गते रातिदेखि मौन अवधि शुरु हुने

काठमाडौंः प्रतिनिधिसभाको निर्वाचन आउन अब १७ दिन बाँकी छ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि १५ दिनसम्म मात्र औपचारिक प्रचारप्रसार गर्न पाउने व्यवस्था गरेको छ ।

आयोगका अनुसार फागुन १८ गते राति १२ बजेसम्म चुनावको प्रचार गर्न पाइनेछ । त्यसपछि ‘मौन अवधि’ शुरु हुनेछ । मौन अवधिमा प्रचारप्रसार, मत माग्ने गतिविधि वा मतदातालाई प्रभावित पार्ने कार्य पूर्ण रूपमा निषेध हुनेछ ।

आयोगका अनुसार उम्मेद्वारलाई ६४ बुँदे निर्देशन जारी गरिएको छ । निर्देशनअनुसार उम्मेद्वारहरूले फागुन ४ देखि १८ गतेसम्म मात्र जुलुस, आमसभा, कोणसभा र घरदैलो कार्यक्रम गर्न पाउनेछन् । प्रचार कार्यक्रम बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म मात्र सञ्चालन गर्न पाइनेछ ।

आयोगले निर्वाचन खर्च पारदर्शी बनाउन कडा व्यवस्था लागू गरेको छ । उम्मेदवार र दलले गर्ने सम्पूर्ण खर्च बैंक वा वित्तीय संस्था मार्फत् गर्नुपर्नेछ । निर्वाचन परिणाम घोषणा भएको ३५ दिनभित्र खर्चको विस्तृत विवरण आयोगमा बुझाउनुपर्नेछ । तोकिएको समयभित्र विवरण नबुझाए वा गलत विवरण पेस गरे कानुनी कारबाही गरिने चेतावनी आयोगले दिएको छ ।

त्यस्तै, निर्वाचन चिह्न अंकित टिसर्ट, टोपी, झोला, मास्क, लकेटजस्ता सामग्री वितरण र प्रयोगमा प्रतिबन्ध लगाइएको छ । मतदातालाई कुनै प्रकारको आर्थिक प्रलोभन वा उपहार वितरण गरेमा गम्भीर उल्लंघन मानिनेछ ।

आयोगले आचारसंहिता उल्लंघन भएमा सचेत गराउनेदेखि दण्ड जरिवाना र उम्मेदवारी खारेजीसम्मको कारबाही हुन सक्ने जनाएको छ । गम्भीर उल्लंघनमा ६ वर्षसम्म कुनै पनि राजनीतिक प्रतिस्पर्धामा भाग लिन नपाउने व्यवस्था गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments