विराटचोकः सरकारले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । आज बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो ।
निगमले एक विज्ञप्ति जारी गरी पेट्रोल लिटरमा एक रूपैयाँ र डिजेल तथा मट्टीतेल लिटरमा ३ रूपैयाँ मूल्य बढाएको जानकारी दिएको छ । खाना पकाउने ग्यास र हवाइ इन्धनको मूल्य भने यथावत छ ।
भारतीय आयल कर्पोरेसन (आइओसी) ले पठाएको मूल्यसूची अनुसार निगमले नयाँ भाउ तोकेको हो । निगमका अनुसार आइओसीले पेट्रोलमा प्रतिलिटर १.५१ रूपैयाँ र डिजेलमा ५.०२ रूपैयाँ बढाएर नयाँ मूल्य सूची पठाएको छ ।
निगमका अनुसार अब पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगन्ज, भलवारी, नेपालगन्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ १५४ रूपैयाँ ५० पैसा प्रतिलिटर पर्नेछ । त्यस्तै डिजेल र मट्टीतेलको मूल्य १३९ रूपैयाँ ५० पैसा पर्नेछ ।
दोस्रो वर्गमा सुर्खेत र दाङमा अब पेट्रोलको भाउ १५६ रूपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको मूल्य १४१ रूपैयाँ पर्नेछ ।
तेस्रो वर्गमा पर्ने काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १५७ रूपैयाँ तथा डिजेल र मट्टीतेलको भाउ १४२ रूपैयाँ प्रतिलिटर पर्नेछ ।







