धरानः २६ औँ संस्करणको अन्तर्राष्ट्रिय आमन्त्रण बुढासुब्बा गोल्डकपको उपाधि प्लानिङ ब्वाईज युनाईटेड काठमाडौंले जितेको छ । साबिक उपविजेता चर्च ब्वाइज युनाइटेडलाई १–० गोल अन्तरले पराजित गर्दै प्लानिङ ब्वाइट युनाइटेडले उपाधि हात पार्न सफल भएको हो । जीतसँगै विजेता प्लानिङ ब्वाईजले १० लाख नगद रकम सहित ट्रफी हात पारेको छ । प्लानिङ ब्वाईज पहिलो पटक बुढासुब्बा गोल्डकपमा सहभागी भएको थियो ।
गत सालको उपविजेता चर्च ब्वाईज यस पटक पनि उपविजेता बन्दै पाँच लाख रुपैयाँ र ट्रफीमा चित्त बुझाएको छ । धरान–१६ स्थित रंगशालामा सम्पन्न फाईनल खेलमा प्लानिङ ब्वाईजका प्रताप सिंह राईले खेलको दोस्रो हाफको १८ औं मिनेटमा गरेको गोल नै खेलको निर्णायक गोल भएको थियो ।
खेलको उत्कृष्ट प्रदर्शन गरेका प्लानिङ ब्वाइज युनाइटेडका पुजन थापालाई ‘म्यान अफ द म्याच’ घोषणा गरियो । उनले नगद १० हजार रुपैयाँसहित ट्रफी प्राप्त गरेका छन् । प्रतियोगिताको उत्कृष्ट खेलाडि प्लानिङ ब्वाईजको प्रताप सिंह राई भए । उनलाई होण्डा डियो स्कुटर प्रदान गरिएको थियो ।







