Sunday, February 15, 2026
Homeराजनीतिविनोद ढकालले कोराबाटै सार्वजनिक गरे ३० बुँदे प्रतिबद्धतापत्र

विनोद ढकालले कोराबाटै सार्वजनिक गरे ३० बुँदे प्रतिबद्धतापत्र

विराटनगरः बुबाको निधनपछि कोरामा रहेकै अवस्थामा नेकपा एमालेका मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्यका उम्मेद्वार नेता विनोद ढकालले ३० बुँदे प्रतिबद्धतापत्र सार्वजनिक गर्नुभएको छ ।

आज विराटनगर–५ सम्झना चोकस्थित निवासबाट उहाँले क्षेत्रगत विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, पर्यटन र सामाजिक सुरक्षासम्म समेटिएको विस्तृत योजना समेटिएको प्रतिबद्धतापत्र एमाले नेता सत्यनारायण चौधरीले सार्वजनिक गर्नुभएको हो ।

कार्यक्रममा सञ्चारकर्मीले राखेका जिज्ञासाको जवाफ मोरङ–६ का चुनावी कमाण्डर एवं पूर्वमन्त्री लालबाबु पण्डितले दिनुभएको थियो । ढकालले शनिबार नै भिडियो सन्देश जारी गरेर अहिले कोरामा रहे पनि आफ्नो मन मतदातासँगै रहेको बताउनुभएको थियो ।

ढकालको ३० बुँदे प्रतिबद्धतामा विराटनगरको ढल निकास तथा डुबान समस्या समाधानका लागि गुरुयोजना बनाउने, चक्रपथसहित प्रमुख सडक स्तरोन्नति गरी कालोपत्रे गर्ने र गछिया, बुढीखोला, केशलिया तथा सिंगिया नदी नियन्त्रणका लागि विशेष योजना ल्याउने उल्लेख छ । बन्द तथा रुग्ण उद्योग पुनः सञ्चालन, साना तथा घरेलु उद्योग प्रवद्र्धन र मजदुर हितका कार्यक्रमलाई प्राथमिकतामा राखिएको छ ।

त्यसैगरी, शिक्षातर्फ स्मार्ट क्लासरुम नीति, जेनजी लक्षित प्रविधिमैत्री सिकाइ, ‘पढ्दै–कमाउँदै’ कार्यक्रम, विश्वविद्यालय तथा क्याम्पसको सुव्यवस्था र स्वरोजगारमुखी शिक्षा लागू गर्ने योजना अघि सारिएको छ । मदरसा र गुरुकुलसहित धार्मिक विद्यालयलाई विश्वविद्यालयीय शैक्षिक कार्यक्रममा जोड्ने, थारु समुदायको भाषा संस्कृति संरक्षण गर्ने तथा मठमन्दिर, मस्जिद, चर्च, गुम्बालगायत सांस्कृतिक धरोहर संवद्र्धन गर्ने प्रतिबद्धता पनि जनाइएको छ ।

स्वास्थ्यतर्फ सरकारी तथा निजी अस्पतालमा विपन्न नागरिकको सहज पहुँच सुनिश्चित गर्ने, कृषिमा मल, बीउ र खाद समयमै उपलब्ध गराउने, सिँचाइ विस्तार तथा अर्गानिक खेतीलाई व्यवसायीकरण गर्ने योजना छ । कृषि उपज सङ्कलन केन्द्र र शीत भण्डार सञ्चालनमा प्रोत्साहन गरिने उल्लेख छ ।

सुन्दरहरैंचामा रहेको हसिना सिमसारलाई पर्यटकीय क्षेत्रका रूपमा विकास गर्ने, कोशी नहरको विराटनगर शाखा करिडोर, गछिया र बुढीखोलाको किनार सुन्दर र हरियाली बनाउने, खुला व्यायामशाला तथा मिनीपार्क स्थापना गर्ने योजना अघि सारिएको छ । गछियालाई केन्द्र बनाएर प्रशासनिक कार्यालय स्थापना गर्न पहल गर्ने प्रतिबद्धता पनि छ ।

ढकालले पूर्वमन्त्री लालबाबु पण्डितको कार्यकालमा शुरु भई अधुरा रहेका आयोजना प्राथमिकताका साथ पूरा गर्ने बताएका छन् । क्षेत्रगत विकासको नेतृत्व गर्ने उहाँको प्रतिबद्धता छ ।

शोकका बीच प्रतिबद्धता सार्वजनिक गरेर ढकालले चुनावी प्रतिस्पर्धामा आफूलाई सहयोग गर्न मतदातासँग आग्रह गर्नुभएको छ । प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा एमाले नेता गुरु बराल, केन्द्रीय सदस्यहरु ऋषिकेश पोखरेल, पर्शुराम बस्नेतलगायतका नेता, कार्यकर्ताको उपस्थिति थियो ।

शोकको घडीमा सार्वजनिक गरिएको प्रतिबद्धताले आफू व्यक्तिगत पीडामा रहे पनि जनताप्रतिको दायित्वबाट पछि नहट्ने सन्देश दिन खोजिएको नेताहरूले बताएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments