जनकपुरः महोत्तरीको मटिहानीमा खेत जोतिरहेको ट्याक्टरको हलो (रोटाभेटर)ले काटिएर दुई बालिकाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा महोत्तरी मटिहानी नगरपालिका ४ मझौराका ईमराईन राईनकी ७ वर्षीया छोरी फरहाना खातुन र सिराहाको सिराहा नगरपालिका ११ मरडा बस्ने सम्तुला राईनकी ८ वर्षीया छोरी रफिया खातुन रहेका छन् ।
मटिहानी नगरपालिका ४ मझौराका गरिब आलमको ज १ त ९७८२ नम्बरको ट्याक्टरले खेत जोतिरहेको अवस्थामा दुवै बालिका ट्याक्टरमा बसेका थिए । अचानक उनीहरु लडेपछि ट्याक्टरको रोटाभेटरले टाउकोको भाग काटिँदा दुवै जनाको घटनास्थलमा नै मृत्यु भएको हो ।
बालिकाको शव पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वरमा पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घटनापछि ट्याक्टरलाई घटनास्थलमा नै छोडेर ट्याक्टर चालक फरार रहेको प्रहरीले जनाएको छ ।







